बजेट अभावले सबै प्रदेशमा महिला पुर्नस्थापना केन्द्र निर्माण गर्न सकिएन : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

बजेट अभावले सबै प्रदेशमा महिला पुर्नस्थापना केन्द्र निर्माण गर्न सकिएन : मन्त्री थापा

काठमाडौं, २३ माघ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बजेट अभावका कारण सबै प्रदेशमा महिला पुर्नस्थापना केन्द्र निर्माणको काम अघि बढाउन नसकिएको बताएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘हिंसा पीडित महिलाका लागि सातै प्रदेशमा निर्माण गरिने भनिएको आवासगृहका बारेमा सांसदले सोधेको प्रश्नको जवाफ दिदै उनले बजेट अभावका कारण सबै प्रदेशमा आवास गृह बनाउन नसकिएको बताइन् ।

सात वटै प्रदेशमा पुर्नस्थापना केन्द्र निर्माण गर्नुपर्छ भनी राष्ट्रपति महिला उत्थान कार्यक्रमको बजेटलाई प्रदेशस्तरमा हिंसापीडित महिलाको पुर्नस्थापनाको लागि दीर्घकालिन पुर्नस्थापना कार्यक्रम संञ्चालनका लागि ७० लाख बजेट विनियोजन गरि १७ जिल्लामा अल्पकालिन आश्रयस्थल संञ्चालन भईरहेको उनले बताइन् ।

उनले २५ जिल्लामा थप कार्यक्रम सञ्चालन गर्ने भनि अघिल्लो बर्ष सुरु गरिएको कार्यक्रम बजेट अभावले गर्न नसकिएको स्पष्ट पारिन् । सांसद सरिता न्यौपानेले हिंसा पीडित महिलाका लागि सातै प्रदेशमा निर्माण गरिने भनिएको आवासगृह निर्माणको काम के भईरहेको छ भनी प्रश्न सोधेकी थिइन् ।

उनले काठमाडौंको सिफलमा केन्द्रीय स्तरको मंगला सहाना दिर्घकालिन पुर्नस्थापना केन्द्र संचालन भईरहेको जानकारी दिइन् । प्रदेश १ को विराटनगरमा अमेरिकी दुतावासको सहयोगमा पुर्नस्थापना केन्द्र निर्माणका लागि भवन निर्माण कार्य भईरहेको बताइन् ।

निर्माण सम्पन्न भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिने, प्रदेश नम्बर ३ को सिन्धुपाल्चोकमा अमेरिकी दुतावासको सहयोगमा भवन निर्माणको काम भईरहेको र प्रदेश ५ को बर्दियामा भवन निर्माण सम्पन्न भई पीडितहरु पुर्नस्थापना केन्द्रमा बस्न थालेको उनले जानकारी दिइन् । सांसहरु पदम गिरी, आशा कुमारी बिक, बिमला बिक लगायतले मन्त्रीलाई प्रश्न सोधेका थिए ।