अछामको रामारोशन क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

अछामको रामारोशन क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो

सुशील भण्डारी

अछाम, २२ माघ । बाह्र बण्ड र अठार खण्डका नामले परिचित अछामको रामारोशन देशकै पर्यटकीय सम्भावना बोकेको क्षेत्रहरु मध्यकोे एक हो । सरकारले हालै छनोट गरेका एकसय नयाँ पर्यटकीय गन्तव्यमा परेको अछामको रामारोशन क्षेत्र पछिल्लो समयमा प्रचार प्रसारसँगै आन्तरिक पर्यटकहरुको आकर्षण बढ्न थालेको छ ।

पछिल्लो समय नेपालीहरुमा पनि देशका विभिन्न स्थानहरु घुम्ने सँस्कृतिको विकास भएको पाइन्छ । यसले पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको पहिचान र प्रचारप्रसार दुबै हुने गरेको छ ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण यो क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढिरहेको छ । उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन्  ।

चारैतिर हराभरा जंगल र बीचमा हरियो वनजंगलले रामारोशनलाई बेहुली झैँ सिंगारिएको छ । रामारोशनलाई विशेष कार्यक्रम ल्याई ऐतिहासिक पर्यटकीय स्थल बनाउनको लागि स्थानीय सरकारले प्रदेश सरकार र केन्द्र सरकारसंग समन्वय गरी विकास समृद्धि गर्न आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।

थुपै्र प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाइनुका साथै विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशन क्षेत्रमा लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान रहेको छ । थुप्रै मनमोहक तालहरुले यहाँ आउने सबै पर्यटकहरुको मन लोभ्याएको छ  ।

सुन्दर तालहरुमा हाँसहरु पौडिरहेका देखिन्छन भने मैदानमा बिहानी पख डाँफेहरु खेलीरहेका हुन्छन् । रामारोशन गाउँपालिकाले रामारोशन पर्यटन गुरु योजना निमार्ण गरेको छ । संरक्षणको पर्खाईमा रहेका तालहरुको सरसफाई गरीे संरक्षण गर्ने र घुम्न आउने पर्यटकहरुलाई घुम्नको लागि रामारोशनको तालहरुमा डुंगा संचालन गर्ने तयारी गरिएको छ ।

घुम्न जाने पर्यटकहरुलाई बस्नको लागि होमस्टे संचालन गर्ने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानाकारी दिइन् ।

रामारोशनको विकास, संरक्षण र पहिचानको लागि गाउँपालिकाले ठोस योजना बनाउन जरुरी छ । प्रकृतिको सुन्दर बरदानको रुपमा रहेको अछाम जिल्लाकै पहिचान बोकेको रामारोशनको प्रचारप्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सके रामारोशनको विकास र यहाँको आर्थिक पक्षलाई सबल बनाउन टेवा पुग्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);