घातक जीवनाशक विषादीको प्रयोगमा तत्काल रोक लगाउन माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

घातक जीवनाशक विषादीको प्रयोगमा तत्काल रोक लगाउन माग

bisadi

काठमाडौं, २२ माघ । प्रतिनिधिसभाका सांसदहरुले मानव स्वास्थ्यका लागि घातक जीवनाशक विषादीको प्रयोगमा तत्काल रोक लगाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले चार वर्ष भित्र पूरै प्रतिबन्ध गराउने गरी मानव स्वास्थ्यका लागि घातक जीवनाशक विषादी नियन्त्रणसम्बन्धि कार्ययोजना तत्काल बनाउन सरकारसँग माग गरे ।

मंगलबार प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले कृषकको जीवनमाथि ठूलो घात गर्ने खालका जीवनाशक विषादी नियन्त्रण गरेर सरकारले खेतीबालीमा पूर्ण रुपमा प्राङगारिक मलको व्यवस्था गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

समितिका सदस्य समेत रहेका सांसद सुवालले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि छुट्याइएको २५ करोड बजेट हिनामिना भएको दावी गर्दै छानवीन गर्न पनि सरकारसँग माग गरे ।

समितिकी अर्का सदस्य सुजिता शाक्यले मानव स्वास्थ्यका लागि घातक जीवनाशक विषादी नियन्त्रणका लागि आवश्यक नियमावली बनाउन पनि ढिलाई नगर्न सरकारलाई सचेत गराए । उनले जीवनाशक विषादीको प्रयोगबाट हुने प्रतिकूल असर रोक्न सरकारले आवश्यक योजना बनाउनुपर्ने आवश्यक्तामा जोड दिए ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्य र माटोमै गम्भिर असर पार्ने जीवनाशक विषादी नियन्त्रणका लागि सरकारले नीति तथा कार्यक्रम नै तय गरेको समितिलाई जानकारी गराए ।

उनले सरकार माटाको व्यवस्थापन गरेर कृषकहरुको हितमा हुने गरी कृषिसम्बन्धि आवश्यक कानुनी व्यवस्था गर्न प्रतिवद्ध भएर लागि परेको दावी गरे ।

बैठकमा समितिका सदस्यहरुले कृषि बालीमा अत्याधिक विषादीको प्रयोग गर्दा क्यान्सर जस्ता घातक रोगको शिकार हुने क्रम बढेकाले पनि त्यसको नियन्त्रणमा सचेत रहन सरकारको गम्भिर ध्यानाकर्षण गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);