कोमलप्रसाद दुलाल
काठमाडौं, १९ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रायः राजनैतिक, आर्थिक र सामाजिक विषयमा छलफल र भेटघाट हुने गर्दछ । तर, शनिवार भने प्रधानमन्त्री निवास बालुवाटरको दृष्य अलि फरक थियो । प्रधानमन्त्री केपी शर्मा ओली साहित्यबाट प्रवचन दिईरहेका थिए भने सुन्नेहरु ताली पड्काउँदै हाँसिरहेका थिए ।
डाक्टर अरुण सायमिले लेखेको मेरो जीवन कथाको विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्यका बारेमा प्रवचन दिए । सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रसंसा गर्दै मुलुकको समग्र राजनीतिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले शनिबार आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रीत गरे ।

पेशाले चिकित्सक सायमिले गीति लेखन, कविता, उपन्यास तथा समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । उनको पछिल्लो कृतिको रुपमा आएको ‘मेरो जीवन-कथा’ आत्मकथालाई गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रकाशन गरेको हो ।
२ सय ५२ पृष्ठको ‘मेरो जीवन-कथा’ भित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजनीतिक यात्रा, राजनीतिक व्यक्तित्वसंगको भेटघाट, संगत तथा २०६२/६३ को जनआन्दोलनका विषयबस्तु समेटिएको छ । यतिमात्र नभइ भारतले लगाएको नाकाबन्दीको प्रसंग पनि उक्त पुस्तकमा समेटिएको छ ।




