चक्रपथमा यात्रुलाई मार | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

चक्रपथमा यात्रुलाई मार

Kalanki_Koteshwor road

ललितपुर, १९ माघ ।  चक्रपथ निर्माणमा त्रुटिका कारण दैनिक सयौं मानिस जोखिम मोलेर बाटो काट्न बाध्य छन् । यसबारे सेफ रोड इन नेपालले एक वर्षअघि सडक विभाग, यातायात मन्त्रालय, चिनियाँ ठेकेदार कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुप र चक्रपथ सुधार योजनालाई ध्यानाकर्षण गराएको थियो । सुनुवाइ भएन ।

कोटेश्वर नरेफाँटका २० वर्षीय अमृत कोइराला बालकुमारीस्थित एक कलेजमा पढ्छन् । उनले दैनिक दुईपटक सडक वारपार गर्नुपर्छ । साताअघि उनकै अगाडि साथी प्रवण अधिकारीलाई मोटरसाइकलले ठक्कर दियो । उनी भन्छन्, ‘मोटरसाइकल रोक्न हात दिंदादिंदै पनि ठक्कर दियो । चक्रपथमा सवारी गति नियन्त्रण गर्ने न ‘स्पिड ब्रेकर’ छ, न त आकाशेपुल । न जेब्रा क्रसिङ न पर्याप्त ट्राफिक प्रहरी नै ।’

रोड सेफ्टी अडिटिङ हरेक सडकको अनिवार्य गर्नुपर्छ । अडिटिङपछि विज्ञहरूले दिएको सुझावका आधारमा गर्नुपर्ने सुधारपछि मात्र निर्माण सम्पन्न भएको मानिन्छ । कोटेश्वर–कलंकी सडकमा त्यस्तोभएको छैन ।

कोइरालाजस्तै बिहान हुस्सुमा बढी जोखिम मोलेर बाटो काट्नुपर्ने धेरैको अवस्था छ । अमरावती कृति टोल कोटेश्वरका ७३ वर्षीय धर्मप्रसाद गौतमलाई बिहीबार नातिनीहरूको झोला बोकेर आइरहेको अवस्थामा भेट भयो । दैनिक नातिनीलाई विद्यालयमा पुर्‍याउन र लिन जाने जिम्मेवारी सुम्पेकाले उनी घर सल्लाह नगरीकन कतै निस्कन मिल्दैन । कारण त्यही चक्रपथ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।