चट्टान फोडेर बेपत्तासम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चट्टान फोडेर बेपत्तासम्म

chattan fodera uddar

धादिङ,  १९ माघ । : रुवीभ्याली–४ हिन्दुङस्थित ओडारमा बेपत्ता भएका दुई गोठाला पाँच दिनपछि बिहीबार मृत भेटिए। चट्टान फोडेर निकालिएको उनीहरूको शव शुक्रबार प्रहरीले परिवारलाई जिम्मा लगाएको छ। मृत्यु हुनेमा १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ छन्।

हिमपात भइरहेका बेला २ सय ६० भन्दा बढी भेंडाबाख्रासहित ओडारभित्र पसेका बेला पहिरो खस्दा उनीहरू सम्पर्कविहीन भएका थिए। उक्त क्षेत्रमा अघिल्लो शुक्रबारदेखि हिउँ परेको थियो। घटना भएको दिन आइतबार पनि बिहानदेखि बाक्लो हिमपात भएको थियो। चट्टान खसेर ओडारको मुख टालिएपछि उनीहरूको अवस्था पत्ता लगाउन पाँच दिन लागेको हो।

सशस्त्र प्रहरी धादिङका गुल्मपति दर्शन गिरीका अनुसार ‘भत्किएको संरचनामा खोज तथा उद्धार’ तालिमप्राप्त सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत नेतृत्वको टोली खटिएको थियो। बेपत्ताको उद्धारका लागि १६ सशस्त्र र ६ प्रहरी खटिएका थिए। प्रहरी निरीक्षक बस्नेतले भूकम्पका बेला काठमाडौंका भग्नावशेषबाट स्थानीयलाई ५–७ दिनपछि पनि जीवितै उद्धार गरेका थिए। ओडारभित्रको खोंचबाट पनि चारवटा बाख्रा भने जीवितै उद्धार गरिएको उनले सुनाए।

‘जीवितै उद्धार गर्ने आशा राखेर काम गरे पनि गोठालाहरू मृत भेटिँदा दुःख लाग्यो’, उनले भने, ‘चार दिनदेखिको मिहिनेतका बाबजुद अवस्था पत्ता लगाउन सकेकोमा अर्कोतर्फ खुसी पनि लाग्यो।’ स्थानीयको सहयोगमा उपकरण र शव गाउँसम्म बोकेर ल्याएको जानकारी उनले दिए। भने, ‘उनीहरूको शव शुक्रबार बिहान आफन्तलाई बुझाएर घटनास्थलबाट ब्यारेक फर्कियौं।’

उनका अनुसार भेंडाबाख्रासहित गोठाला पुरिएको खबर पाएपछि उद्धारमा जान तयार रहन निर्देशन आएको थियो। ‘पानी परिरहेका बेला सोमबार हामी सेनाको हेलिकप्टरमार्फत घटनास्थलतर्फ लाग्यौं। हेलिकप्टरबाट झरेर पनि १ घण्टा हिँडेपछि घटनास्थलमा पुग्यौं’, उनले भने, ‘घटनास्थल देखेपछि कहाँबाट काम सुरु गर्ने भनेर हामी अलमलमा पर्‍यौं।’

उनका अनुसार ओढारको मुखको नामनिशाना थिएन। ठुल्ठूला चट्टान मात्र थिए। ‘हामीसँग ढुंगा फुटाउने हाते सामग्री, मेसिन चलाउन लगेको जेनेरेटरभन्दा अरू केही थिएन’, उनले भने, ‘अरू सामान लैजान सम्भव पनि थिएन। भग्नावशेषको प्रकृति र ठूला चट्टान देख्दा त यहाँ मान्छे होलान् र भन्ने शंका पनि लाग्थ्यो।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);