पुष्पा पोख्रेल
काठमाडौं, १८ माघ । गत सोमवार गौरवको आयोजनाका रुपमा रहेको चक्रपथको कलंकी–कोटेश्वर ८ लेनको सडकखण्ड चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण ग-यो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको हो ।
यो सडक निर्माण सम्पन्न भएसंगै अब कलंकी कोटेश्वर सडकमा हुने जाम कम हुने र गन्तब्यमा पुग्न सहज हुने अपेक्षा गरिएको छ । हुनपनि कंलकी तथा बल्खु जस्ता मुख्य स्थानमा हुने ट्राफिक जाम पनि कम भएकै छ ।
तर, सडक निर्माण सम्पन्न भई हस्तान्तरण भए पनि ठुलो र चौडा सडकमा थुप्रै त्रुटीहरु देखिएका छन् । बाटोको बिचमा जेब्रा क्रसिङ तथा आकासे पुल नहुँदा सवारी चालकले ओभर स्पिडमा सवारी साधन चलाउँदा दुर्घटना समेत बढ्ने सम्भावना भएको सर्वसाधारण बताउँछन् ।
बाटो फराकिलो भएपनि बाटोको बीचमा जेब्रा क्रसिङ र आकासे पुल नहुँदा त्यसको मारमा आम जनता पर्दै आइरहेका छन् । बाटोको बीच–बीचमा डिभाइडर राख्नुपर्नै ठाउँमा लेनमार्किङ राखिएको छ ।
यसले सर्वसाधारण लेनमार्किङ टेकेर हिँडदा असहज भईरहेको प्रष्ट देखिन्छ । अत्याधिक जाम हुने चक्रपथको सडक अहिले व्यवस्थित बनेको छ । जाम भएर लामो समय कुरेर बस्ने सर्वसाधारणहरुले पनि यसबाट मुक्ति त पाएका छन् । तर, बीच–बीचमा आकासे पुल र जेव्रा क्रसिङ नहुँदा त्यसको समस्या सबैले भोग्ने गरेका छन् ।
यो सडक खण्डमा चार लेनको प्रमुख सडकसहित दुईतर्फ दुई–दुई लेनका सर्भिस ट्रयाक समेत बनाइएको छ । यसरी साँघुरो चक्रपथ ठुलो र चौडा भएको छ । त्यतिमात्र हैन सडकमा यात्रा गर्दा कुनै विदेशको शहरमा हिँडिरहेको जस्तो भान पनि हुन्छ ।