काठमाडौं, १८ माघ । अनसनरत डाक्टर गोविन्द केसीले १६ औं आमरण अनसन २४ औं दिनमा तोडेका छन् । त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाको हातबाट जुस खाएर उनले अनशन तोडेका हुन्।
उनी इलाम पुगि पुस २५ गतेबाट अनसन बसेका थिए । आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै उनले १६ औं आमरण अनसन सुरु गरेका हुन् ।
केसीले चिकित्सा क्षेत्रको सुधारका लागि आफुले राखेको माग भन्दा विपरित चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पास भएको भन्दै बाध्य भएर अनसन बस्नु परेको बताउँदै आएका थिए ।
चिकित्सा शिक्षा विधेयक संघीय संसद र राष्ट्रिय सभाबाट बहुमतले पारीत भएसँगै उनलाई अनसन तोड्न चौतर्फी दबाब दिइएको थियो । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएसँगै सरकारले केसीको अनसनको औचित्य सकिएको बताउँदै आएको थियो ।
यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व राष्ट्रपति रामबरण यादव लगाएत नागरिक समाजका अगुवाले उनलाई अनसन तोड्न दबाब दिएका थिए ।