काठमाडौं, १७ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बिहीबार अपरान्ह डा. केसीलाई भेट गरी उनले जीवन रक्षाका लागि तत्काल पहल गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका हुन् । सभापति देउवाले डा. केसीको माग सम्बोधन गराउन सरकारलाई दवाव दिन आफ्नो पार्टीले देशभर विरोध प्रर्दशन गर्ने निर्णय लिएको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले वार्ता गरी डा. केसीको माग सम्बोधन गर्न ढिलाई गर्न नहुने सभापति देउवाको भनाई छ । सभापति देउवाले आफ्नो पार्टीले डा. केसीको मागमा राजनीतिकरण गर्न नचाहेको पनि स्पष्ट पारे ।
सभापति देउवाले आफू प्रधानमन्त्री भएका बेला डा केसीसँग सहमति गरेर संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै पारित गर्न आफ्नो पार्टीले सरकारलाई दवाव दिएको बताए ।