काठमाडौं, १५ माघ । वैदेशिक रोजगारीमा रहेकाहरुलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउन सकिने भएको छ । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरि प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गते देखि लागु गर्न सकिने गरि सरकारलाई सुझाव दिएको छ ।
श्रम सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले श्रममन्त्रि गोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा बैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आन्तरिक पुँजी निर्माणमा सहयोग हुने बताइएको छ ।
कार्यदलले प्रतिवेदनमा सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा समेटिनेमा पहिलो चरणमा नेपालबाट श्रम स्वीकृति लिई नेपाल सरकारले बैदेशिक रोजगारको लागि खुला गरेको देशमा काम गरिरहेका श्रमिक, दोश्रो चरणमा विदेशमा व्यापार व्यवसाय गरिरहेका नेपाली नागरिकहरु र तेश्रो चरणमा गैर आवाशीय नेपालीहरु रहेका छन् ।
प्रतिवेदन बुझ्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिष्टले सबै कानुनी प्रक्रिया मिलाएर आगामी साउन १ गतेबाट कार्यक्रम लागु गर्न सकिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिवेदनमा बैदेशिक रोजगारीमा रहेका व्यक्तिका नेपालमा रहेका परिवारले आय आर्जन हुने, स्वरोजगार मुलक व्यवसाय गर्न चाहेमा अथवा घरायसी काममा समेत प्रयोग गर्न सकिने गरि सापटी योजना बनाउन सकिने सुझाव गरेको छ ।




