अमेरिकी न्याय विभागद्वारा चिनियाँ कम्पनी हुवावे विरुद्ध मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

अमेरिकी न्याय विभागद्वारा चिनियाँ कम्पनी हुवावे विरुद्ध मुद्दा दायर

एजेन्सी, १५ माघ । अमेरिकाको न्याय विभागले चिनियाँ टेलिकम जाइन्ट हुवाई तथा हुवावेकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खाविरुद्ध ठगीको मुद्दा दायर गरेको छ । हुवावे विरुद्ध अमेरिकाको टि मोबाइलको प्रविधि चोरी गरेको, बैंक तथा वायर फ्रड गरेको र न्याय प्रक्रियामा अवरोध गरेकोसहितका आरोप लगाइएको छ ।

संसारकै दोस्रो ठूलो स्मार्टफोन निर्माता चिनियाँ कम्पनी हुवावेविरूद्ध अमेरिका आक्रामक रूपमा अघि बढेको छ । आफ्ना विभिन्न निकायले गरेको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा अमेरिकाको जस्टिस डिपार्टमेन्टले हुवावेविरूद्ध बैंकिङ जालसाजी, न्यायमा अवरोध, इरानमाथि लगाइएको प्रतिबन्धको उल्लंघन, प्रविधि चोरीलगायत आरोप लगाएर मुद्दा हालेको छ ।

अमेरिकी वाणिज्य मन्त्री विल्बर रसले मुद्दा दायरपछि प्रतिक्रिया दिंदै गैरकानुनी गतिविधि गर्न अमेरिकी आर्थिक प्रणालीको प्रयोग गरी कैयौं वर्षदेखि चिनियाँ कम्पनीले आफ्नो निर्यात कानुनलाई उल्लंघन गर्दै प्रतिबन्धलाई अवमूल्यन गरेको बताएका छन् ।

उनले अव त्यस्तो अवस्थाको अन्त्य हुने दावी समेत गरेका छन । हुवावेकी प्रमुख फाइनान्स अफिसर मेङ्ग अमेरिकाको अनुरोधमा क्यानडाको भ्यानकुभरबाट डिसेम्बर १ मा पक्राउ परेकी थिइन । अमेरिकाले उनलाई सुपुरदर्गी गर्न आग्रह गर्दै आएको थियो ।

यो प्रकरणले चीन स्थित क्यानेडेली राजदुतले आफ्नो पद समेत गुमाइसकेका छन । मेङ्गका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उनी बर्खास्तीमा परेका थिए । त्यसो त वदलास्वरुप क्यानेडेली एक नागरिकलाई चिनमा मृत्युदण्डको सजाय सुनाइएको विश्लेषकहरुले बताउँदै आएका छन् ।

तर त्यो वदला स्वरुप नभएकोे चीनले वताउँदै आएको छ । पछिल्लो समय धरौटीमा रिहा भैसकेकी मेङ्ग क्यानडाको कडा निगरानीमा रहेकी थिइन् । उनलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गर्दै आएको अमेरिकाले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अमेरिकाले हुवावे र यसका संचालक विरुद्ध प्रविधि चोरीको आरोप लगाउँदै मुद्दा दायर गरेको भएपनि चिनले हुवावेले यस्तो कार्य नगरेको भन्दै अमेरिकी आरोपको खण्डन गरेको छ ।

केहीदिन अघिमात्र हुवावे अमेरिकाको एप्पल कम्पनीलाई तेस्रोमा धकेल्दै दोस्रो ठूलो स्मार्ट फोन निर्माता कम्पनी बनेको छ । दक्षिण कोरियाको सामसङ कम्पनी पहिलो नम्बरमा छ । संसारको पहिलो र दोस्रो अर्थतन्त्रका रूपमा रहेका अमिरका र चीनबीच भविष्यको प्रभुत्वका लागि तीव्र प्रतिष्पर्धा रहेको छ । यस्तो प्रभुत्वमा प्रविधिले प्रमुख भूमिका खेलेको छ ।

टेलिकम क्षेत्रमा नेतृत्व लिने चिनियाँ आकांक्षा धेरै हदसम्म हुवावेमा निर्भर गरेको छ । टेलिकम्युनिकेशनको अर्को पुस्ताको फाइभजी प्रविधि विस्तारमा हुवावेले अमेरिकी कम्पनीहरूसँग तीव्र प्रतिष्पर्धा गरिरहेको छ ।

संसारभरि फाइभजी प्रविधि विस्तार जुन कम्पनीले गर्न सक्यो त्यसले आर्थिक, प्राविधिक, सामरिक सूचनामा पकड राख्ने विश्लेषकहरूले बताएका छन् । विकसित देशहरूमा हुवावेले फाइभजी विस्तारको काम नपाओस् भनेर अमेरिकाले प्रयत्न गरिरहेको चीनले आरोप लगाएको छ ।

अमेरिकी अधिकारीहरूले हुवावेमाथी प्रतिवन्ध लगाउने विषयमा नाटो सदस्य मुलुक बेलायत, जर्मनी र पोल्याण्ड जस्ता देशहरुसंग लविङ गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अष्ट्रेलिया, न्युजिल्याण्ड, जापानलगायत मुलुकले हुवावेको फाइभजी प्रविधिलाई रोक लगाइसकेका छन् । युद्धविरामको अवस्थामा रहेको अमेरिका र चीनको व्यापार युद्धबारे कुरा गर्न चिनियाँ अधिकारीहरू वासिङ्टन पुग्नु केही दिनअघि अमेरिकाले चालेको यो कदमले वार्तामा प्रभाव पार्ने बताइएको छ । तर अमेरिकी अधिकारीहरूले भने मेङको मुद्दा र चीनसँगको व्यापार वार्ता फरक विषय भएकाले आपसमा नजोडिने बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);