काठमाडौं, १५ माघ । शहीद सप्ताहको अवसरमा मंगलबार शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झना गरिएको छ ।
शहीद दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गरेको काठमाण्डौको शोभाभगवतीमा मंगलबार बिहान आयोजित श्रद्धाञ्जली सभामा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायत सर्वसाधरणले शहीदद्धयको शालिकमा माल्र्यापण गर्दै उनीहरुले पुर्याउनुभएको योगदानको स्मरण गरे । श्रद्धाञ्जली सभालाई सम्बोधन गदै महानगरका मेयर शाक्यले शहीदको सपना साकार पार्नका लागि दलिय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय भएको थियो । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा,७ दिनपछि धर्मभक्त माथेमालाई सिफलमा र ९ दिनपछि अर्थात् माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिईएको थियो । हरेक बर्ष माघ १० देखि १६ गते सम्म शहीद सप्ताह मनाउने गरिन्छ ।