काठमाडौं, १० माघ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत वर्षको तुलनामा १० गुणाले वृद्धि भएको छ । गत वर्ष पुस मसान्तमा रू. १२ लाख ३८ हजार नाफा गरेको कम्पनीले यस वर्षको पुस मसान्तमा रू. १ करोड २९ लाख ६५ हजार नाफा गरेको हो । यस वर्ष सञ्चालन नाफा १० गुणा बढेकाले नाफा बढ्नमा सहयोग मिलेको हो । कम्पनीको सञ्चालन नाफा यो पुस मसान्तमा रू. २ करोड ३ लाख ७३ हजार रहेको छ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १४ करोड रहेको छ । गत वर्षसम्म ऋणात्मक रहेको जगेडा कोष रकम भने यो वर्ष सुधारिएको छ । कम्पनीको जगेडा कोष रकम रू. १ करोड ८३ लाख २ हजार रहेको छ । यस अवधिमा कम्पनीले गत वर्षभन्दा २ गुणाभन्दा बढी रू. १ अर्ब ४७ करोड ८६ लाख ५४ हजार निक्षेप संकलन गरेको छ भने २ गुणाभन्दा बढी रू. १ अर्ब १८ करोड ७९ लाख ८७ हजार कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा गत वर्षभन्दा १४ दशमलव १३ प्रतिशतबाट घटेर १३ दशमलव ३१ प्रतिशतमा सीमित भएको छ ।
यस कम्पनीले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको तयारीका लागि विक्री प्रबन्धक नियुक्ति र रेटिङ पनि गराईसकेको छ । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपि आईपीओ ग्रेड ४ दिएको छ । यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको बुझाउँछ ।