मन्त्री यादवका किस्सैकिस्सा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मन्त्री यादवका किस्सैकिस्सा

mantri yadav

काठमाडौं, ५ माघ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सचिव विद्यानाथ झा देशैभर चर्चाको पात्र बनेका छन्। चर्चा हुनुको कारण मन्त्रीले सचिव कुट्नु र सचिव पनि मन्त्रीविरुद्ध अशोभनीय तरिकाले आक्रोशित हुनु हो।

मन्त्री यादवले आफ्नो पदीय मर्यादा नै बिर्सेर सचिव झालाई कार्यकक्षमै सभामुख सरोजकुमार यादवको अगाडि हातपात गरेको घटना चर्चामा छ। घटनापछि सचिव झाले समेत आक्रोशित हुँदै निकै अभद्र गाली दिएको भिडिओ फुटेज भाइरल भएको छ। तर मन्त्री यादवले उनलाई कुटेको पाँच औंलाकै डाम गालामा देख्दा उनको आक्रोश सोही कारणले निस्किएको प्रस्ट हुन्छ।

सचिवलाई कुटेर पनि मन्त्री यादवले गल्ती भने स्वीकार गरेका छैनन्। उनले सचिव नै आफूमाथि जाइलागेपछि सामान्य विवाद मात्रै भएको दाबी गर्छन्। मन्त्री यादव र सचिवबीचको विवादले प्रदेश २ को प्रशासनिक कार्य नै प्रभावित भएको छ। कर्मचारीहरू सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै आन्दोलित छन्।

मन्त्रीजस्तो मर्यादित पदमा बस्ने व्यक्तिले यस प्रकारका अमर्यादित गतिविधि कसरी गर्न सक्छन् भन्ने प्रश्न चौतर्फी उठेको छ। मन्त्री यादवले आफूनिकट गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै सचिव झामाथि रिस पोखेको झाको आरोप छ।

मन्त्री यादव पदमा आसीन भएदेखि नै निरन्तर विवादमा छन्। आफ्नो गृह जिल्लामै उनले सत्ताको बलमा गरेका केही क्रियाकलाप निकै चर्चामा छन्। मन्त्रीको पदमा बहाली भएदेखि नातागोतालाई प्राथमिकतामा राखेका छन्। जबर्जस्ती सबओभरसियरलाई गाउँपालिकामा हाजिरी गराउनेदेखि सरकारी विद्यालयका प्रधानाध्यापकलाई निजी सचिव बनाउने जस्ता कामका कारण उनी विवादमा छन्। आफ्नै बुवालाई उपभोक्ता समितिको अध्यक्ष बनाएकाले पनि उनी विवादमा छन्। सचिव कुटेको घटनासँगै उनी मुछिएका घटना सार्वजनिक हुन थालेका छन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);