काठमाडौं ।
वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सुस्ता क्षेत्रमा भइरहेको भारतीय हस्तक्षेपको विरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन गरेको छ ।
आईतवार दिउँसो आयोजित उक्त विरोध कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रहित विपरित भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । केही समयअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले नेपालले पनि कतिपय क्षेत्रमा भारतीय भूमि मिचेको हुनसक्ने आशयको अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । सोही सन्दर्भलाई लिएर विद्यार्थीले सुस्तामा भइरहेको भारतीय पक्षको ज्यादती र साम्राज्यवादी हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘कमजोर राष्ट्रहरूमाथि साम्राज्यवादी हस्तक्षेप बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’ र ‘विद्यार्थी एकता जिन्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । उनीहरूले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि विद्यार्थी आन्दोलन एक हुनुपर्नेमा जोड दिएका छन् ।




