काठमाण्डौ, २ माघ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा पनि फष्ट माइक्रोफाइनान्स वित्तीय संस्था पहिलो बनेको छ । कम्पनीले यस अघि पनि अन्य कम्पनीभन्दा पहिला वित्तीय विवरण सार्वजनिक गर्दै आएको छ । दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले रू. ५ करोड ६३ लाख १६ हजार नाफा आर्जन गरेको छ ।
यो नाफा गत वर्षको यसै अवधिको तुलनामा भने १८ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले रू. ४ करोड ७६ लाख ९७ हजार नाफा आर्जन गरेको थियो । यस वर्ष गत वर्षभन्दा संचालन नाफामा पनि १८ प्रतिशतलेनै वृद्धि देखिएको छ । यस त्रैमासमा कम्पनीले रू. ८ करोड ८४ लाख ९६ हजार संचालन नाफा गरेको छ । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।
कम्पनीले गत वर्षको तुलनामा यस वर्ष करीब ३८ प्रतिशतले चुक्तापूँजी बढाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६८ करोड ४३ लाख ९४ हजार रहेको छ । जगेडा कोषको रकममा गत वर्षभन्दा २८ प्रतिशत वृद्धि देखिएको छ । गत वर्ष दोस्रो त्रैमासमा रू. ११ करोड ९३ लाख ८५ हजार रहेको जगेडा कोष रकम यस वर्ष रू. १५ करोड ३० लाख १२ हजार पुगेको छ ।




