काठमाडौं, २४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले नै वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । संघीय संसदको दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका सांसदहरुले करोडौंको जडिबुटीलगायतका वनजन्य सम्पदाहरु भारतमा चोरी निकासी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन ।
समितिका सदस्य दिनानाथ शर्माले वन सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले चोरी निकासी नियन्त्रण गर्न र वनको उचित संरक्षण गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।
नेकपाकै अर्का सांसद चक्रप्रसाद स्नेहीले वन ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरे । उनले महाकाली नदी किनारमा ढलेका रुख कटान गर्न ऐनले नदिएपछि त्यसको सदुपयोग भारतीय नागरिकहरुले गरिरहँदा पनि सरकारले त्यसमा कुनै चासो नदिएकोमा सांसद स्नेहीको आपत्ति छ ।
सांसद स्नेहीले वनको सदुपयोग गर्ने नीति अझै लिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।