काठमाडौं, २२ पुस । राष्ट्रिय जनता पार्टी नेपालले सभामुख कष्णबहादुर महराले प्रधानमन्त्रीको सम्बोधनमाथि नेपाली काँग्रेसलाई प्रश्न गर्न नदिएर गल्ती गरेको टिप्पणी गरेको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता अनिलकुमार झाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहे पनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको प्रतिक्रिया दिए ।
आईतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ बोल्दै उनले संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको बताए ।
नेता झाले संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा बोल्दै नबोलेकोमा असन्तुष्टि जनाउँदै त्यस सम्बन्धमा पार्टीमा गम्भिर छलफल गर्ने बताए । राष्ट्रिय जनता पार्टी, नेपालले आफ्नो पार्टीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।




