काठमाडौं, १२ पुस । सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट्रिय गौरवको आयोजनाको ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव दिएको छ । सरकारद्वारा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट्रिय गौरवका आयोजनाहरुमा ठेक्का पट्टा दुरुपयोग गर्ने लगायतका काम भएको निष्कर्ष निकाल्दै त्यस्ता ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव दिएको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा. डिल्लीराज खनालले गुणस्तरहिन काम गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्न पनि सरकारलाई आग्रह गरे । गुणस्तरहिन काम गर्ने तथा आयोजनाको लागत बढाउने खालका प्रवृत्तिलाई नियमन गरी कार्वाही गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।
आयोगले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्न पनि सरकारलाई भनेको छ । खर्च प्रणालीमा तत्काल सुधार ल्याउन पनि सरकारलाई आग्रह गरिएको अध्यक्ष खनालले जानकारी दिए ।
कार्ययोजनाविना नै सरकारले आयोजनाहरु कार्यान्वयनमा लैजान खोजेको आयोगको निष्कर्ष छ । आयोगले प्रदेश र स्थानीय तहमा अहिलेदेखि नै बजेट र खर्च प्रणालीलाई प्रभावकारी र परिणाममुखि बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याएको छ ।