भारतीय बैंकबाट ऋण ल्याउने व्यवस्था परिमार्जन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय बैंकबाट ऋण ल्याउने व्यवस्था परिमार्जन

bank money

काठमाडौं, ११ पुस । नेपालका वाणिज्य बैंकले भारतीय मुद्रा (भारू)मा भारतका बैंकबाट ऋण सापटी लिने व्यवस्था परिमार्जन भएको छ । नयाँ व्यवस्थाअनुसार कोषको सीमान्त लागतका आधार ब्याजदर निर्धारण हुने नेपाल राष्ट्र बैंकले बताएको छ । भारतीय बैंक तथा वित्तीय संस्थाले आप्mनो कोषको सीमान्त लागत (एमसीएलआर) मा अधिकतम १ प्रतिशतसम्म प्रिमियम थपेर नेपाली बैंकलाई ऋण दिन सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले जारी गरेको भारूमा ऋण लिनेसम्बन्धी व्यवस्थामा १ वर्षे (३६५ दिने) ट्रेजरी बिल्सको दरमा १ प्रतिशत प्रिमियम थपेर ऋण लिन पाइने शर्त थियो । तर, सो व्यवस्था अपेक्षाकृत रूपमा प्रभावकारी नभएपछि एमसीएलआरमा आधारित ब्याजदरको व्यवस्था ल्याइएको राष्ट्र बैंकले बताएको छ । मंगलवार यसबारे सूचना जारी गर्दै अब भारतीय वित्तीय संस्थाले नेपाली बैंकमा ऋण लगानी गर्न सहज हुने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले जानकारी दिए । यो समाचार आजको अभियान दैनिकमा छ ।

केन्द्रीय बैंकले एकवर्षे ट्रेजरी बिल्सको ब्याजदरमा १ प्रतिशत प्रिमियम थपेर ऋण ल्याउन पाउने व्यवस्था गत कात्तिकमा गरेको थियो । सो व्यवस्थाअन्तर्गत कुनै पनि वाणिज्य बैंकले भारूमा ऋण ल्याउन आवेदन नदिएको ढुंगानाले जानकारी दिए । ‘भारतीय बैंकले त्यहाँको केन्द्रीय बैंक (आरबीआई) को नीतिका कारण ट्रेजरी बिल्सको ब्याजदरका आधारमा ऋण प्रवाह गर्न नसकेपछि एमसीएलआरमा आधारित व्यवस्था ल्याइएको हो,’ उनले भने । नेपालमा आधारदर जस्तै भारतमा एमसीएलआर कार्यान्वयनमा रहेकाले सोही अनुकूल नयाँ व्यवस्था गरिएकाले अब दुवै पक्षलाई सहज हुने उनको भनाइ छ ।

भारतमा अहिले ८ देखि ९ प्रतिशतको हाराहारी एमसीएलआर रहेको तथ्यांक छ । त्यसमा १ प्रतिशत प्रिमियम थपिने हुँदा भारतीय बैंकलाई आकर्षक भए पनि नेपालीलाई महँगो पर्ने सम्भावना देखिएको छ । भारतबाट ल्याइएको ऋण नवीकरणीय ऊर्जा, विकास निर्माणका काम, पर्यटन, कृषि, लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्न पाइने व्यवस्था कायमै छ । तर, यसरी १० प्रतिशतमा भारतबाट ऋण ल्याएर तोकिएको क्षेत्रमा मात्र लगानी गर्दा नाफा हुनसक्ने सम्भावना न्यून रहेको बैंकरहरू बताउँछन् । यद्यपि राम्रोसँग विश्लेषण गरेर मात्र यसै हुन्छ भन्न सकिने उनीहरूको भनाइ छ । यस्तो कर्जा बैंकको प्राथमिक पूँजीको ५० प्रतिशत मात्र लिन पाउनेछन् । सो कर्जाको लागि धितो, जमानत तथा बैंक ग्यारेन्टी दिन पाइने छैन ।

कार्डबाट महीनामा १ लाखको मात्र कारोबार
नेपाली बैंकको कार्ड प्रयोग गरेर भारतीय बजारमा अब महीनामा अधिकतम १ लाख भारूसम्मको मात्र कारोबार गर्न पाइने भएको छ । व्यापारिक प्रयोजनका लागि समेत कार्डबाटै कारोबार हुन थालेपछि नेपाल राष्ट्र बैंकले मंगलवार निर्देशन जारी गरेर यस्तो सीमा तोकेको हो । व्यापारीहरूले आयातित वस्तुको भुक्तानी समेत कार्डबाट गर्न थालेपछि यस्तो कडाइ गरेको केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।

भारतमा नेपाली क्रेडिट, डेबिट वा प्रिपेड कार्डको माध्यमबाट पोइन्ट अफ सेल्स (पस) मेशिन र अन्य विद्युतीय प्रणालीमार्फत वस्तु वा सेवा खरीद गर्दा सीमा तोकिएको पहिलोपटक हो । ‘व्यापारी प्रयोजनमा ड्राफ्ट, टीटी, एलसीजस्ता उपकरणको प्रयोग नगरी कार्डमार्फत भुक्तानी गर्ने प्रवृत्ति बढेकाले सीमा तोक्न परेको हो,’ ढुंगानाले भने । यो व्यवस्थाले वस्तु तथा सेवा आयात गर्ने कारोबार प्रणालीलाई सुधार गर्ने अपेक्षा राष्ट्र बैंकको छ । केन्द्रीय बैंकले बजारमा खरीद गर्ने वस्तुमा बाहेक होटल, हस्पिटल र औषधि पसलमा गरिने भुक्तानीमा भने कुनै सीमा छैन ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);