अख्तियारले २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

अख्तियारले २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझायो

काठमाडौं, ९ पुस । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक दायित्व बोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २८ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।

संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन सदाझैं यस वर्ष पनि सोमबार सितल निवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीलाई बुझाएको हो ।

प्रमुख आयुक्त नविनकुमार घिमिरेले अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई सोमबार बुझाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले पत्रकार सम्मेलन गरी जानकारी गराए । २ सय ४७ पृष्ठ लामो प्रतिवेदनमा अख्यिारले वर्ष दिन भित्र सम्पादन गरेका कामकार्वाहीहरु समावेश गरिएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७४/७५ मा आयोगमा कूल १९ हजार ४ सय ८८ वटा उजुरी परेको उल्लेख गरिएको छ । प्रवक्ता दंगालले ती उजुरी मध्ये १२ हजार ४ सय उजुरी फर्स्यौट गरिएको जानकारी दिए ।

६ हजार ४ सय ५८ उजुरी प्रारम्भिक छानवीन पछि तामेलीमा राखिएको र २ सय ६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको पनि अख्तियारले जनाएको छ । ती मध्ये ५ सय ४६ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ५ हजार १ सय ३४ वटा उजुरीउपर कार्वाही गरिएको पनि अख्तियारको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस वर्ष भ्रष्टाचार सम्बन्धि सबैभन्दा बढि उजुरी शिक्षा मन्त्रालयसँग सम्बन्धित छन् । त्यसैगरी सबैभन्दा कम उजुरी अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा रहेको पनि अख्तियारको वार्षिक प्रतिवेदनमा औंल्याइएको छ ।

प्रवक्ता दंगालले शिक्षा मन्त्रालयसँग सम्बन्धित सबैभन्दा बढि उजुरी १८ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए । दोस्रोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तेस्रो भूमि सुधार मन्त्रालयसँग सम्बन्धित, चौंथो वन मन्त्रालयसँग सम्बन्धित उजुरी, पाँचौंमा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित उजुरी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);