काँग्रेस महासमिति बैठक स्थलमा केहीबेर तनाव, माईक खोसाखोसपछि घम्साघम्सी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काँग्रेस महासमिति बैठक स्थलमा केहीबेर तनाव, माईक खोसाखोसपछि घम्साघम्सी

काठमाडौं, ३ पुस । नेपाली काँग्रेसको महासमिति बैठक स्थल मंगलबार बिहान केहीबेर तनावग्रस्त भएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सृजना भएको हो ।

जिल्ला सभापतिहरुले राखेको अडान विपरित सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमै उक्लिएर होहल्ला गर्न थालेका थिए । जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि सभापति देउवाले बैठक स्थगित गर्नु परेको थियो ।

बैठक स्थगित भएपछि मञ्चमा माइक लिएर नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले बोल्न सुरु गरेपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले माइक खोसेका थिए । माईक खोसाखोसपछि त्यहाँ घम्साघम्सीको अवस्था सृजना भएको हो ।

तर, काँग्रेस सहमहामन्त्री महतले भने माईक तोडफोड गर्ने हर्कत गरेपछि आफूले त्यसलाई रोक्ने प्रयास गरेको प्रतिक्रिया दिए । उनले सभापतिले बैठक केहीबेरका लागि स्थगित गरेपछि पनि नुवाकोट जिल्ला सभापति केसीले अशोभनीय काम गरेको उल्लेख गर्दै त्यसप्रति महासमितिका सबै सदस्यहरु दुःखी भएको बताए ।

यसैबीच, काँग्रेस शीर्ष नेताहरु पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफल गरिरहेका छन् । विधानमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरु पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन् ।

विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा काँग्रेस शीर्ष नेतृत्वबीच विवाद छ । पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष अडिएपछि महासमिति बैठकमा पेश गर्ने विधान मस्यौदामा सहमति जुट्न नसकेको हो । सोमबारको महासमिति बैठकमा पनि विधानको मस्यौदा बैठकमा पेश गर्न ढिलाई नगर्न माग गर्दै होहल्ला गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);