नुवाकोट, १ पुष । नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ। मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए। सिसिपुकै १५ जना अंगभंग भए।
एकै गाउँका २० जनाले ज्यान गुमाउनु र कैयौं घाइते हुनु नुवाकोटकै ठूलो सडक दुर्घटना भएको स्थानीय बताउँछन्। शोकमा डुबेको सिसिपु गाउँका अधिकांशको घरमा यतिबेला चुलो बलेको छैन। उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या २० पुगेको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।
यातायातको भरपर्दो साधन नभएको सिसिपुवासी सहज र बाध्यता दुवै कारण मिनिट्रक प्रयोग गर्छन्। त्यहाँको अधिकांश भेगमा यही यात्रु तथा सामानवाहकमा यही प्रयोग हुन्छ। कच्ची र साँघुरो सडकमा सहजै गुड्ने हुँदा स्थानीयको रोजाइमा मिनिट्रक पर्ने गरेको छ।
तामाङ जातिको बाहुल्य उक्त घ्याङफेदी सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको छ। सिसिपु नजिकै घ्याङफेदीको घोप्टेभीरमा २६ वर्षअघि थाई एयरलाइन्सको विमान दुर्घटना भएको थियो।
गत २०७१ साल कार्तिकमा पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडकखण्डको बीचमा रहेको बेलकोटको आरुबोटे भीरमा यात्रुबस दुर्घटनामा तीन विदेशीसहित १४ यात्रुको घटनास्थलमै ज्यान गएको थियो। २०७४ साल भदौमा विदुर आउँदै गरेको यात्रुबस शिवपुरी गाउँपालिका गुरुङगाउँ नजिकै दुर्घटना हुँदा सात जनाको ज्यान गएको थियो। यो दुर्घटनाको स्वरूप पनि पहिलेजस्तै छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।