काठमाडौं, २९ मंसिर । शक्ति गौचनले आफ्नो दुई दशक लामो क्रिकेटिङ यात्रा शनिबारको खेलबाट टुंग्याएका छन् । उनले टीभीएस एभरेष्ट प्रिमियर लिगको शनिबारको दोस्रो खेल अन्तर्गत पोखरा राइनोजबाट चितवन टाइगर्ससँग खेल्दै आफ्नो खेल जीवन टुंग्याएका हुन् ।
भेट्रान बलर शक्ति गौचनको अन्तिम खेलमा पनि पोखरा पल्टन पराजित भएको छ । शनिबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरा पल्टनलाई ७ विकेटले हरायो । हारसंगै गौचनले घरेलु लिगबाट बिदा लिएका छन् ।
मैदान छाड्दै गर्दा उनी भावुक बनेका थिए । उनले अन्तिम दिन स्मरणयोग्य रहने बताए । नेपाललाई १० वर्षमा टेष्ट नेसन बनाउने आफ्नो लक्ष्य रहेको भन्दै उनले क्रिकेटको विकास र प्रशिक्षणको माध्यमबाट यसमा योगदान गर्ने बताए । प्रतियोगितामा पोखराको खराब प्रदर्शनको समिक्षा गर्दै शक्तिले फिल्डिङमा चुकेको बताए ।