काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले पहिलोपटक महासमिति बैठक आह्वान गरेको हो । आगामी पुस ३ गतेसम्म चल्ने बैठकमा विभिन्न कमिटीबाट गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।
प्रतिनिधिहरुको सहभागिताले अहिले योगम्बर पार्टी प्यालेसमा चहलपहल बढेको छ । बैठकमा पार्टीको केन्द्रीय समितिमा छलफल भइसकेका विभिन्न पाँच विषयका दस्तावेज पेस गर्ने कार्यतालिका छ ।
बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले सांगठनिक तथा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रस्ताव पेस गर्ने बताइएको छ ।
त्यसैगरी सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ ।