९५ राजनीतिक दलले दल दर्ताका लागि आयोगमा निवेदन दिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

९५ राजनीतिक दलले दल दर्ताका लागि आयोगमा निवेदन दिए

काठमाडौँ, १२ भदौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । व्यवस्थापिका–संसद्भित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।

 

मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबारसम्म निवेदन दिन आयोगले समय तोकेको थियो । आइतबार मात्रै ३१ राजनीतिक दलले निवेदन दिएका छन् । दलले आयोगमा बुझाएका कागजातको छानबिन गरी संविधान, ऐन र कानुनअनुसार भए दल दर्ता गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

 

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले निवेदनका लागि आएका कागजातको भदौ २५ गतेभित्र छानबिन पूरा गरी आयोगमा पेस गर्न निर्देशन दिएका छन् । आयोगमा दल दर्ताका लागि व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ७९औँ नम्बरमा निवेदन दिएको छ भने कुमार खड्का अध्यक्ष रहेको अखण्ड पार्टी नेपालले ९५औँ नम्बरमा निवेदन दर्ता गराएको छ । आयोगमा दल दर्ताका लागि पहिलो नम्बरमा बिजुलीप्रसाद तिम्सिना अध्यक्ष रहेको ग्रिन पार्टी नेपालले निवेदन दिएको छ । संसद्मा रहेका सबै दलले निवेदन दिएको प्रवक्ता शर्माले जानकारी दिए ।

 

प्रवक्ता शर्माका अनुसार व्यवस्थापिका–संसद्मा क्रियाशील रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक), उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपतिशमशेर जबरा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी नेपाल लगायतले दल दर्ताका लागि आइतबार निवेदन दिएका छन् ।

 

स्थानीय तह निर्वाचनमा सहभागी नभएका दलले पनि प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनका लागि सहभागिता जनाएका छन् । नेपालको संविधानको धारा २७१ अनुसार २०७४ असार मसान्तसम्म आयोगमा दल दर्ता भएका दलले मात्रै निवेदन दिन पाउनेछन् ।

 

स्थानीय तह निर्वाचनका लागि ८० वटा राजनीतिक दलले निर्वाचनमा सहभागी हुनका लागि निवेदन दिएकामा ६३ दलले निर्वाचनमा भाग लिएका थिए । आयोगले दिएको जानकारीअनुसार ६३ वटा दलमध्ये पहिलो र दोस्रो चरणको निर्वाचनमा १४ वटा दलले मात्रै सिट जितेका छन् ।

 

आयोगमा पाँचवटा समूहले निर्वाचन चिह्न पाउनका लागि समेत निवेदन दिएको जानकारी कानुन शाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले दिए । पूर्वमन्त्री प्रेमबहादुर सिंहले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्नमा चुनावमा जाने जानकारी दिए । यस्तै सीपी मैनाली महासचिव रहेको नेकपा (माले)ले अन्य दलसँग मिलेर चुनावमा जाने जनाएको छ ।

गोरखापत्रमा समाचार छापिएको छ ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);