काठमाडौं, २२ मंसिर । टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ।
साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्। अन्नपूर्ण पोस्टका अनुसार उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा फेक आइडीमार्फत ‘ब्ल्याक मेल’ गर्नेहरू छन्।
पछिल्लो समय यो समस्या गाउँतिर बढी हुन थालेको छ। तर गाउँमा साइबर क्राइम हेर्ने प्रहरीको शाखा छैन। त्यसैले सबै दुर्व्यवहारको उजुरी आइपुग्न अवस्था नरहेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन्। तीन वर्ष यता सामाजिक सञ्जालबाट हुने हिंसाको दर वार्षिक दोब्बर बढेको छ।
‘फेसबुक मेसेन्जरबाट पीडित हुने धेरैजसो किशोरी छन्। उनीहरूले आफ्नो जीवनसमेत राम्ररी नबुझी हिंसाको शिकार हुनुपरेको छ’, उप्रेती भन्छन्, ‘सामाजिक सञ्जालबाट हुने हिंसाको दर डरलाग्दो छ। यसलाई न्यूनीकरण गर्न साइबर ब्युरो बनाएर सातै प्रदेशमा पुर्याउन जरुरी छ।’ काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लासम्म मात्रै महाशाखाको पहुँच छ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।