मेलाम्चि खानेपानी आउने बारे दुइवटा मिति सार्वजनिक, ६० कि १ सय ३० दिन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेलाम्चि खानेपानी आउने बारे दुइवटा मिति सार्वजनिक, ६० कि १ सय ३० दिन ?

melanchi khanepani

फूलमाया आले, काठमाडौं, १८ मंसिर । पछिल्लोपटक मेलाम्चि खानेपानी आयोजनाबाट काठमाडौंमा पानी आउने दुइवटा मिति सार्वजनिक भएका छन् ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले संसदीय समितिमा पुगेर गत १६ गतेबाट ६० दिन भित्र काठमाडौंमा पानी आइपुग्ने ठोकुवा गरेका छन् । यता मेलाम्चि खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्य कँडेलले त्यसको दुइ दिनमै चार महिना लाग्ने घोषणा गरेका छन् ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पटक–पटक म्याद थप्ने तर तोकिएको समयमा काम पुरा नहुने पहिचान बनाएको छ । लामो समयदेखि प्रत्येक सरकारले यही मेलम्ची खानेपानी आयोजनालाई एजेण्डा बनाएर जनतालाई अश्वासन दिने काम गर्दै आइरहेका छन् ।

पछिल्लो पटक तोकेको समय अनुसार गत असोजसम्ममा मेलम्ची खानेपानी आयोजनाको निर्माणकार्य सम्पन्न गरी उपत्यकाबासीको घरघरका धारामा पानी आउने बताइएपनि त्यो सफल हुन सकेन । तर उक्त म्यादमा पनि पानी ल्याउन नसकेका सरकारी निकायलले पछिल्लो पटक फरक–फरक म्याद तोकेका छन् ।

आइतबार संसदको विकास समितिमा खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनमा मेलम्चीको पानी राजधानीमा आउने ठोकुवा गरेका छन् । सचिव ठाकुरले पहिलो चरणमा काठमाडौंको महाँकाल, नयाँबानेश्वर, अनामनगर, बालाजु, पानीपोखरी र बाँसबारीमा रहेको पुरानै ट्यांकीबाट पानी वितरण गर्ने घोषणा गरे ।

संसदीय समितिमा सचिव ठाकुरको भनाईसँग मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्य कँडेलले पनि सहमति जनाएका थिए । तर, सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिसँगको स्थलगत अनुगमन पछि बोल्दै उनले अहिलेकै गतिमा काम भए मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने बताए ।

केही दिन अघि सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा मेलम्चीको खानेपानी राजधानीमा आउने र सडक पखाल्न थालेपछि सरकार कहाँ छ भन्नेर सोध्नेहरुलाई जवाफ दिने बताएका थिए ।

प्रधानमन्त्रीजस्तै सरकारका सम्बन्धित निकायले पनि मेलम्चीको पानी आउने भन्दै भाषण गरेर आश्वासन बाड्दै हिडिरहेका छन । तर, सरकारले हरेक पटक समय तोक्दै म्याद सार्दै गरेका कारण मेलाम्चीको पानी सरकारले घोषणा गरेको समयमा नैं आउँछ भनेर सर्वसाधारण भने विश्वास लागेको छैन ।

देशका विकास निर्माणका सन्दर्भमा मेलम्ची खानेपानी आयोजना ढिलाइको एउटा नमूना नै भएको छ । खानेपानी जस्तो आयोजना सम्पन्न गर्ने मिति सधैं सार्दै लैजाने एउटा सामान्य प्रवृत्ति नै भइसकेको छ । त्यसैल अझै पनि मेलम्ची अब पनि तोकिएको समयमा आउला भनेर विश्वस्त हुन सक्ने अवस्था छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);