काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी ओलीले अनावश्यक विदेश भ्रमण रोक्न पटक–पटक दिएको निर्देशन अटेर गर्दै केही कर्मचारी घुमघाममा व्यस्त छन् । आफ्नो जिम्मेवारीसँग असम्बन्धित विषयमा विदेश सयर गर्ने क्रम नरोकिएपछि प्रधानमन्त्री कार्यालयले त्यस्ता कर्मचारीको सूची बनाउन थालेको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएयताका चार महिनामा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी विदेश गएका छन्। सामान्यबाट मंसिर १ मा १८ कर्मचारी कोरिया भ्रमणमा गएका छन् भने मंसिर ९ मा २० जना चीनको बेइजिङ उडेका छन्। दुवै टोली दुई साता लामो भ्रमणमा गएका हुन्। त्यसलगत्तै सहसचिव रुद्रसिंह तामाङको नेतृत्वमा मन्त्री लालबाबु पण्डितका निजी सचिव रमेश अधिकारीसहित ९ जना कर्मचारी फिलिपिन्स भ्रमणमा गएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार साउन र भदौमा सामान्य प्रशासनका ९१ कर्मचारीले विदेश सयर गरेका थिए। त्यसपछि वन तथा वातावरण मन्त्रालयका ७७ कर्मचारीले विदेश भ्रमण गरेको कार्यालयमा रेकर्ड छ। असोज, कात्तिक र मंसिरमा पनि यिनै दुई मन्त्रालयका कर्मचारी बढी विदेश घुमेका छन्।
‘प्रधानमन्त्रीको निर्देशनको धज्जी उडाउँदै केही मन्त्रालयबाट अत्यधिक मात्रामा विदेश भ्रमण भएको पाइएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले भने, ‘पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ भएको छैन।’
प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा मितव्ययी हुन र जानैपर्ने (फोकल व्यक्ति) कर्मचारीलाई मात्र पठाउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए। ‘केही कर्मचारीको फेसबुक स्टाटस पछ्याउँदै गएर सर्च गर्दा एकै दिन २०/३० जनासम्म कर्मचारी विदेश गएको देखियो,’ कुँवरले भने, ‘संघीय मामिला र वन तथा वातावरण मन्त्रालयको भ्रमण हेर्दा असामान्य देखिन्छ।’
कर्मचारीले फेसबुकमा भटाभट विदेश भ्रमण गरेको फोटो अपलोड गरेको देखिएपछि प्रधानमन्त्री कार्यालयले सामान्य प्रशासन मन्त्रालयसँग विदेश भ्रमणमा गएका कर्मचारीबारे मंसिर ११ गते जानकारी मागेको थियो। ‘तैपनि कर्मचारी फिलिपिन्स गएको बारे मन्त्रालयले लुकायो,’ कुँवरले भने, ‘पछि खोज्दै जाँदा ९ जना फिलिपिन्स उडेको थाहा भयो।’ सामान्यका प्रवक्ता सहसचिव सुरेश अधिकारीले ठ्याक्कै ५० जना कर्मचारी विदेशमा रहेको पुष्टि गरे।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।