काठमाडौं, १५ मंसिर । आन्तरिक राजस्व कार्यालयले सार्वजनिक सूचना जारी गरेको पाँच महिना बितिसक्दा पनि मोरङका ३५ उद्योगी व्यवसायीले अझै कर तिरेका छैनन् ।
कार्यालयले जेठ ७ गते ३७ करदाताको स्थायी लेखानम्बर, नाम ठेगाना र कर बक्यौता खुलाई सूचना जारी गरेको थियो । उनीहरूसँग २१ करोड ८४ लाख ६१ हजार ६ सय २६ उठाउनुपर्नेमा दुई करदाताबाट २३ लाख ८६ हजार सात सय ३९ रुपैयाँ मात्र संकलन भएको कान्तिपुर दैनिकमा समाचार छ ।
बाँकी २१ करोड ६० लाख ७४ हजार आठ सय ८७ रुपैयाँ असुल्नुपर्ने देखिन्छ । यसमा १६ करोड २१ लाख ४६ हजार नौ सय ३७ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) तथा पाँच करोड ३९ लाख २७ हजार नौ सय ५० रुपैयाँ आयकर समावेश छ । ‘धेरैजसो सम्पर्कमै आएका छैनन्’, कार्यालय प्रमुख दिलीपकुमार गौतमले भने ।





