काठमाडौं, १४ मंसिर । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनको एकता भएको छ । शुक्रबार राजधानीमा नेपाल विद्युत प्राधिकरणले एक कार्यक्रम गरी नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनको एकता भएको घोषणा गरेको हो ।
उक्त कार्यक्रममा उर्जा मन्त्री बर्षमान पुनले उद्घाटन गरेका थिए । एकता पश्चात नयाँ नाम नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन राखिएको छ । उक्त एकताले नेपाल सरकारको समृद्धिको सपना पूरा हुनुका साथै नेपाल विद्युत प्राधिकरणको सुदृढिकरण र प्राधिकरणलाई उच्च स्थानमा पुर्याउन सहयोग पुग्ने उर्जा मन्त्री बर्षमान पुन अन्नतको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनको संयुक्त एकताले विगत लामो समयदेखिको विवाद अन्त्य भएको बताए ।
युनियनको एकताले नेपाल विद्युत प्राधिकरणलाई सुदृढिकरण गर्नुका साथै थप उचाइमा पुर्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको तर्क छ । नेपाल विद्युत प्राधिकरणले लामो संघर्ष पछि अँध्यारो नेपाल उज्यालो बनाउन सफल भएको छ ।




