राज्यमन्त्रीको यस्तो बिजोग : न कार्यकक्ष न आवास | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, ११ भदौ । नवनियुक्त सामान्य प्रशासन राज्यमन्त्री वाङदी शेर्पालाई अहिले न मन्त्रालयमा बस्ने ठाउँ छ न आवास सुविधा छ । आजको अन्नपूर्ण पोस्ट लेख्छ – ताप्लेजुङका शेर्पा महांकालस्थित एउटा घरमा भाडाको कोठामा बसेका छन् । त्यहाँ ठाउँ अभाव भएपछि उनले आफ्ना सुरक्षाकर्मी समेत राखेका छैनन् । एउटा पिएसओ मात्र उनको कोठामा बस्छन्।

 

मन्त्रालयमा पनि उनलाई त्यस्तै समस्या छ । समान्य प्रशासन मन्त्रालयमा सहसचिव बस्ने कोठा खाली गरेर उनको कार्यकक्ष बनाइएको छ । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनलाई पनि मन्त्रालयमा बस्ने कोठा छैन । मन्त्रालयमा कोठा नभएपछि उनी कहिले मन्त्रीको कार्यकक्षमा बस्छन् त कहिले सिंहदरबारबाहिरका कार्यक्रममा गई समय बिताउँछन्।

 

गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलाई पनि यस्तै समस्या परेको छ । राज्यमन्त्री भएपछि उनलाई भेट्न कार्यकर्ता कोठा र मन्त्रालयमा पुग्छन् तर पर्याप्त बस्ने ठाउँ छैन । त्यसैले उनी स्वयम्भूको एउटा होटलमा एक दिन बसेको एक कार्यकर्ताले बताए।

 

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीलाई पनि मन्त्रालयमा कोठा नपाएर समस्या भएको छ । मन्त्रालयमा बस्ने कोठा मिलाउने प्रयास भइरहेको उनले बताए। ‘अहिलेसम्म मन्त्रालयमा कोठाको समस्या छ। कोठा मिलाउने प्रयास भइरहेको छ। एकदुई दिनमा कोठा मिल्छ,’ उनले भने।

 

गरिबी निवारण मन्त्रालयमा पनि यस्तै समस्या छ । त्यहाँ पनि राज्यमन्त्रीलाई बस्ने कोठाको समस्या छ। यसरी कार्यकक्ष र आवास नपाएपछि राज्यमन्त्रीहरूको बिजोग भएको छ । यसैसाता सरकारमा २३ राज्यमन्त्री थपिएका हुन् । मन्त्री निवास पुल्चोकका घरमा मन्त्री नै बसेका छन् । आफूहरू बस्ने घर त्यहाँ नभएपछि राज्यमन्त्रीले बाहिर फ्ल्याट खोज्न थालेका छन् । केहीले फ्ल्याट पाएका छन् भने केही खोजीमा छन् । आवास मात्र होइन उनीहरूलाई मन्त्रालयमा पर्याप्त कार्यकक्ष पनि नहुँदा समस्या भएको छ।

 

पहिला बसेका कोठामा राज्यमन्त्री बनेपछि सुरक्षा र अन्य हिसाबले बस्न उपयुक्त नहुने एक राज्यमन्त्रीले बताए । ‘मन्त्रालयमा मलाई एउटा मात्र कोठा दिइएको छ तर भेट्न आउने मानिस बस्ने ठाउँ छैन । आगन्तुक सरासर म बस्ने ठाउँमा आउनुपर्छ,’ सामान्य प्रशासन राज्यमन्त्री वाङदी शेर्पा भन्छन्, ‘कार्यकक्षसँगै आवास समस्या पनि छ । अहिलेसम्म भाडाको सानो कोठामा बसेको छु । कोठामा बस्ने ठाउँ नभएर सुरक्षाकर्मी पनि राखेको छैन’ उनले थपे, ‘आज ९शुक्रबार० आरुबारीमा फ्ल्याट भेटिएको खबर आएको छ । कुरा मिले अब त्यहीं सर्छु होला।’

 

सिँचाइ राज्यमन्त्री अमरसिंह पुन भन्छन्, ‘मन्त्रालयमा बस्ने कोठा नभएपछि कहिले मन्त्रीको कार्यकक्षमा गएर बस्छु, कहिले बाहिरका कार्यक्रममा गई समय बिताउँछु ।’ उनलाई आवासको समस्या भने छैन । बूढानीलकण्ठमा उनको आफनै घर छ । युवा तथा खेलकुद मन्त्रालय, सिँचाइ मन्त्रालय, ऊर्जा मन्त्रालय र ऊर्जा आयोग एउटै भवनमा छन् । यसले गर्दा पनि राज्यमन्त्री बस्ने कोठा अभाव भएको हो।
शुक्रबार गृह जिल्ला रामेछाप गएका गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ उताबाट फर्केपछि डेरा सर्ने भएका छन्।

 

 

कार्यकर्ताले सानो भर्‍याङमा घर भाडामा भेटाएका छन् । फर्केर आएपछि उनी त्यहीं बस्नेछन् । ‘एउटा घर भेटिएको छ भन्ने सुनेको छ। काठमाडौं फर्केपछि त्यही घरमा गएर बस्छु होला’, रामेछापमा रहेका राज्यमन्त्री श्रेष्ठले टेलिफोनमा भने, ‘अहिले म बस्ने ठाउँ साँघुरो भयो । कार्यकर्तालाई भेट्न समस्या भएपछि नयाँ घर खोज्नुपरेको हो।’

 

यसैगरी श्रमराज्यमन्त्री डिल्ली चौधरीले पनि मन्त्रालयमा आफ्नो कार्यकक्ष सानो भएको गुनासो गरेका छन्। उनी भन्छन, ‘मन्त्रालयमा बस्नका लागि कोठा त छन् तर पर्याप्त छैनन् दुइटा मात्र छन् । ती पनि साना छन ।’ आवासका लागि भने त्यति समस्या नभएको उनी बताउँछन्।

 

यसैगरी स्थानीय विकास राज्यमन्त्री जनक चौधरीले पनि मन्त्रालयमा आफूलाई छुट्टयाएको कोठा पर्याप्त नभएको गुनासो गरे। पुष्पकमल दाहाल नेतृत्व सरकारमा पनि उनी करिब दस दिन राज्यमन्त्री भएका थिए । उनी भन्छन्, ‘मन्त्रालयमा बस्ने कोठा त छुट्टयाइएको छ तर पर्याप्त छैनन् । भेट्न आउने मानिस बस्ने स्थान अभाव छ ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारमा २३ राज्यमन्त्री र २३ मन्त्री छन् । यसैगरी ३ उपप्रधानमन्त्री छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);