२ सय रोपनी सरकारी जग्गा भाडामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

२ सय रोपनी सरकारी जग्गा भाडामा

Godavari_art village

ललितपुर, ८ मंसिर । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा दिने निर्णय गरेको छ। नगरपालिकाको नगर परिषद् र नगर बोर्ड बैठकले वडा नं. ९ स्थित फिसिङ डाँडाको २ सय रोपनी सार्वजनिक जग्गा लिजमा दिने निर्णय गरिसकेको पाइएको हो।

नगरपालिकाले सार्वजनिक–निजी साझेदारी नीतिको नाममा गैरकानुनी ढंगले व्यक्तिलाई सार्वजनिक जग्गा लिजमा दिन लागिएको स्रोतले बतायो। स्रोतका अनुसार उक्त जग्गा २५ वर्षसम्मका लागि लिजमा दिन सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको छ।

नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उक्त जग्गा लिजमा दिन लागिएको नभई निजी–साझेदारी नीति अपनाएर नगरपालिकाको स्वामित्वमै जग्गा रहने गरी काम गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘त्यत्तिकै खेर गइरहेको पाखो हो। हामीले त्यसलाई संरक्षण गर्ने उद्देश्य नै राखेर काम गर्न लागिएको हो। लिजमा दिन लागिएको होइन।’ यसका लागि नगरपरिषद् र नगर बोर्डबाट ३ महिनाअघि नै निर्णय भएको उनले बताए।

‘नगर परिषद्ले पनि निर्णय गरिसकेको छ। नगरबोर्डमा पनि निर्णय भइसकेको छ’, नगरप्रमुख महर्जनले भने– ‘खेर गइरहेको पाखोमा कलाकृतिमार्फत पर्यटन विकास गर्दै नगरको पनि विकास हुने भएकाले निर्णय भएको हो।’ नेपाल आर्ट भिलेजले सोही डाँडामा अहिले विनाडिजाइन, विस्तृत परियोेजना प्रतिवेदन (डीपीआर) विनै सडक खन्ने, विभिन्न संरचना निर्माण गर्ने काम सार्वजनिक जग्गामै गरिरहेको छ।

भिलेजले नगरपालिकासँग २ सय ५० रोपनी सार्वजनिक जग्गा माग गरेको बताएको छ। भिलेजले २ सय रोपनी जग्गा यसअघि स्थानीयसँग खरिद गरिसकेको छ भने अहिले सार्वजनिक जग्गा मिचेर गोरेटो बनाउने, सम्याउने, संरचना बनाउने, सडक खन्ने काम गरिरहेको छ। तर भिलेजले भने ती सबै व्यक्तिगत जग्गा भएको दाबी गरिरहेको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);