काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी ओलीले सिंहदरबारमा कार्यसम्पादनबारे मन्त्रीहरूलाई र्याखर्याख्ती पारिरहँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने जापानमा डुलिरहेका थिए।
पाँच दिनका लागि गएका उनी टोकियो, ओसाकालगायत केही शहर घुमे। अाजै शुक्रबार काठमाडौं आइपुग्ने उनी सम्भवतः चाँडै अर्को देश जानेछन्। किनकि उनी प्रायः घुमेको घुम्यै गर्छन्।
मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त विदेशमै बिताइसके। जापान उनको १३औं भ्रमण हो। ‘तपार्इंका मन्त्रीहरूले कतिबेला काम गर्छन्, खै ? हुन्न केही भन्दैनन्, गर्ने केही होइन। केही भन्न गयो, भ्रमणको कुरा गर्छन्’, काठमाडौंस्थित एक विदेशी नियोगका अधिकारीले भने।
उपेन्द्र यादव पनि परराष्ट्रमन्त्री हुँदा खुब घुमे। उनलाई डा. प्रकाशशरण महतले पछ्याए। परराष्ट्र अधिकारी भन्छन्, ‘हामीलाई पनि घुम्न मन लागेको हुन्छ। मन्त्रीलाई नै पठाइदिएपछि बाटो खुल्छ।’
दुई महिना चार दिन विदेशमा रहे पनि नगई नहुने भन्ने जस्तो भ्रमण खासै छैन । परराष्ट्रमन्त्री विदेश जानुका निश्चित उद्देश्य हुनुपर्छ तर, अहिले भइरहेको भ्रमणबाट त्यस्तो केही देखिएको छैन, याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ।