काठमाडौं, ६ मंसिर । निजी वायुसेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनसँगै महत्त्वाकांक्षी योजना अघि सारेको छ ।
दीपककुमार पोखरेल अध्यक्ष रहेको उक्त कम्पनी श्याम अधिकारीको समूहलाई बेचेपछि अहिलेको नयाँ व्यवस्थापनले उडान सेवालाई विस्तार गर्ने रणनीतिसँगै नयाँ जहाज थप गर्ने तयारी गरेको हो । अहिले कम्पनीले ५० सिट क्षमताको एउटा जहाज उडान गर्दै आएको छ भने एउटा जहाज ग्राउण्डेड अवस्थामा छ ।
नयाँ व्यवस्थापनले करीब १५ दिनभित्रै पूर्ण रूपमा कम्पनीको स्वामित्व ग्रहण गर्ने कम्पनीका बजार व्यवस्थापन प्रमुख मुकेश खनालले जानकारी दिए । उनका अनुसार त्यसका लागि प्रोजेक्ट रिपोर्ट (योजना प्रतिवेदन) तयार भइसकेको छ । उनले भने, ‘सोही योजनाअनुसार रू. २ अर्ब ५० करोडभन्दा बढीको लगानीमा ३ ओटा जहाज किन्ने योजना बनाएका छौं ।’ तीमध्ये २ ओटा केही समयमै खरीद गर्ने कम्पनीले बताएको छ । नयाँ जहाज ६ महीनाभित्रै सञ्चालन गर्ने कम्पनीको तयारी रहेकाे खबर अार्थिक अभियानदैनिकमा छ ।
कम्पनीको आगामी योजना र रणनीति नयाँ जहाज थप्ने र नयाँ गन्तव्यहरूमा सेवा विस्तार गर्ने रहेको बताइएको छ । कम्पनीले अहिले उडान गर्दै आएको सीआर जे–२०० (क्यानेडियन रिजनल जेट) लाई प्रतिस्थापन गर्ने तयारी गरेको छ । ५० सिट क्षमताको अहिलेको जहाजले हवाई इन्धन बढी खपत गर्ने र सस्तो दरमा उडान गर्नुपर्ने भएकोले यसलाई ‘फेज आउट’ गरिने खनालले जानकारी दिए ।