पुष्कर भट्ट, कैलाली, ५ मंसिर । सरकारले हालै छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा परेको अछामको रामारोशन क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्यटकको संख्यामा वृद्धि भएपछि रामारोशन क्षेत्रमा चहलपहल वढ्दै गएको छ ।
रामारोशन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटर उचाइमा छ । यस क्षेत्रमा पुग्न अछामको तिमल्सैनबाट करिब ४२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । दर्नास्थित कैलाश खोलामा पक्की पुल निर्माण भएपछि बाह्रै महिना गाडीबाट पुग्न सकिन्छ । दक्षिण भएर बग्ने कर्णाली नदी, उत्तरमा बुढीगंगा र बीचका थुप्रै नदीनालाले यहाँको प्राकृतिक सुन्दरतामा इँटा थप्ने काम गरेका छन ।
परापूर्वकालमा रामारोशन क्षेत्रमा भगवान शिव र पार्वतीले स्नान गरेको र त्यहीं बास गरेको भन्ने किंवदन्ती पाइन्छ । पर्यटकीय दृष्टिले ‘स्वर्ग’ मानिने रामारोशन क्षेत्र पुग्ने जो कोहीले एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ । १२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा विशेष गरी नयाँ वर्षको समय अनुकूल मानिन्छ । हरेक वर्ष फागुनदेखि असारसम्म रामारोशन घुम्न आउने पर्यटकका लागि मौसमले पनि साथ दिन्छ ।
यहाँका बाटुले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताल लगायतका ताललेसमेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन । रामारोशन क्षेत्र भ्रमण गर्न आएका पर्यटकहरु सो क्षेत्र भ्रमण गरिसके पछि स्वर्गमै पुगेको आफुलाई अनुभुती भएको र पर्यटनको प्रचुर सम्भावना भएको रामारोशन क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।
यो क्षेत्रमा राम्रो पक्की मोटर बाटो,सुरक्षा ,बिद्युत,संञ्चार को व्यवस्था मिलाउन सकिएमा आर्थिक तथा सामाजिक परिवर्तनका साथै देश विदेशका पर्यटक भित्र्याउन सकिने स्थानीयको धारणा रहेको छ ।
रामारोशन क्षेत्र भ्रमण गर्न बिगत का बर्ष भन्दा यस बर्ष पर्यटकको संख्यामा निकै बृद्धि भईरहेको र सरकार ले सो क्षेत्रमा आउने पर्यटकका लागी सेवा सुबिधा बढाई रहेको स्थानीय होटल ब्यवसायीलेहरुले बताएका छन् ।
पर्यटकको संख्या वढिरहेको वेलामा रामारोशन पुग्न तथा त्यहा पुग्ने पर्यटकलाई वास वस्नका लागि राम्रा होटलका साथै अन्य विभिन्न सुविधा थप गर्नसके राष्ट्रिय आयमा समेत यस क्षेत्रले ठूलो टेवा पु¥याउने देखिन्छ । यसतर्फ सम्वन्धित सवैको ध्यान जान आवश्यक छ ।