निर्मला हत्याकाण्ड : थप चारको डिएनए पनि मेल खाएन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

निर्मला हत्याकाण्ड : थप चारको डिएनए पनि मेल खाएन

nirmala

कञ्चनपुर, १ मंसिर ।  निर्मला पन्तको हत्यामा संलग्न भएको आशंकामा डिएनए जाँचका लागि पठाइएको चारजनाको नमुना पनि मेल नखाएको रिपोर्ट आएको छ । उनीहरुको रगत लिएर जाँच गरिएको डिएनए निर्मलाको भेजाइनल स्वाबमा फेला परेको शुक्रकीटको अवशेषबाट विकसित गरिएको डिएन प्रोफाइलसँग मेल नखाएको हो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयमा रिपोर्ट खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृत कृष्ण ओझाले बताए । तिहारअघि पठाएको नमुनाको डिएनए रिपोर्ट जिल्लामा आइपुगेको हो । प्रहरीले अहिलेसम्म ९ जनाको डिएनए जाँच गरिसकेको छ तर तीमध्ये कुनैको पनि मेल खाएको छैन । सुरुमा चक्र बडू र दिलीप बिष्टको डिएनए जाँच गरिएको थियो। त्यसपछि जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, उनका छोरा किरण र आयुष बिष्टको डिएनए जाँच गरिएको थियो।

निर्दोष व्यक्तिको सामाजिक प्रतिष्ठामा अघात पु-याउने काम गरेको भनेर प्रहरीको आलोचना भएपछि पछिल्लो पटक नमुना पठाइएका चारजनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले शंकास्पद थप व्यक्तिको पनि डिएनए जाँचका लागि पठाउने तयारी गरेको छ। ‘केही व्यक्ति शंकाको घेरामा छन्’, कञ्चनपुरका एसपी कुवेर कठायतले भने, ‘उनीहरुको पनि डिनए जाँच हुन सक्छ।’

प्रहरीले अन्य सबै प्रमाण नष्ट गरेको अवस्थामा भेजाइनल स्वाब पनि निर्मलाकै हो भनी विश्वस्त हुन नसकिने स्थानीयको भनाइ छ । भेजाइनल स्वाबमा शुक्रकीट पाइएकै हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ प्रहरीले नदिएकाले डिएनएको विश्वसनीयतामा शंका उब्जेको स्थानीय बताउँछन् । उच्चस्तरिय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले पनि राजीनामा दिँदा डिएनएको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);