काठमाडौं, ३० कात्तिक । सार्वजनिक शिक्षामा समतामूलक पहुँच र गुणस्तरीय सुधार गर्ने उद्देश्यका साथ छैठौं विश्व शैक्षिक सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।
न्याय, समानता र समावेशिताका लागि सार्वजनिक शिक्षा पद्धतिको रुपान्तरण भन्ने नाराका साथ सुरु भएको सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा साक्षरता प्रतिशत बढ्दै गएको र सरकारले वार्षिक बजेटको २० प्रतिशत बजेट शिक्षाका लागि छुट्याउने समेत प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै नेपालमा निजी र सरकारी शिक्षाबीच देखिएको अन्तरको अन्त्य गर्नु चुनौतीको रुपमा देखा परेको मन्त्री ज्ञवालीको भनाई छ ।
सम्मेलनमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष कुमार भट्टराइले निजी क्षेत्रले गुणस्तरीय शिक्षा प्रदान गरेको भनिएपनि अनुसन्धाको परिणामले त्यो नदेखाएको बताए । उनले सरकारले सार्वजनिक शिक्षा सुधारका लागि जोड दिनुपर्ने उल्लेख गरे ।
सम्मेलनमा सय भन्दा बढी देशका २ सय ५० शिक्षासेवी, नागरिक समाजका नेतृत्वकर्ता एवं युवा अभियानकर्मीहरुको सहभागिता रहेको छ । विद्यालयको पहुँचबाहिर रहेका विश्वभरिका २६ करोडभन्दा बढी बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन, विद्यालय छाड्ने दरमा कमी ल्याउन र सार्वजनिक शिक्षाको गुणस्तर उकास्न सम्मेलनले सबै देशका सरकारको ध्यानकर्षण गराउँदै अनुगमन र जागरणका कार्यक्रमसमेत पारित गर्ने जनाइएको छ ।सम्मेलन तीन दिन सम्म चल्नेछ ।