काठमाडौं, २७ कात्तिक । नेपाली महिला फुटबल टोली टोक्यो ओलम्पिकका लागि एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । एसियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेको छ । तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न सकेन ।
तर, चार समूहमध्ये तेस्रो हुने उत्कृष्ट दुई टिमको रुपमा नेपालले दोस्रो चरणमा प्रवेश पाएको हो । नेपालले प्रतियोगिताबाट बाहिरिइसकेको बंगलादेशसँग मंगलबार भएको खेलमा एक एक गोलको बराबरी खेलेपछि समूहको शीर्ष दुईभित्र पर्ने सम्भावना सकिएको थियो ।
म्यानमारको थुवुना रंगशालामा नेपालले १७ औं मिनेटमै अग्रता लिएको थियो । निरु थापाले सुरुवाती गोल गरेकी थिइन् । तर, खेलको अन्तिम मिनेटमा गोल खाएसँगै नेपालले लगातार तेस्रो खेलमा पनि अंक बाँड्नुपर्यो ।
खेलको इन्ज्यूरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखिल खातुनले गोल गरेकी थिइन् । यसअघि भारतसँगको पहिलो खेल तथा म्यानमारसँगको दोस्रो खेलमा पनि नेपालले बराबरीको नतिजा निकालेको थियो । ओलम्पिक २०२० को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको खेल २०१९ अप्रिल १ देखि ९ सम्म हुनेछ ।