भारतका विवादास्पद गुरु दोषी ठहर भएपछि भड्कियो हिंसा, २९ को मृत्यु, २ सय घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, १० भदौ । भारतका नाम चलेका गुरुलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा २९ जनाको मृत्यु भएको छ। गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेरा सचा सौदाका प्रमुख गुरमित राम रहिम सिंहलाई १५ वर्षअघि भएको बलात्कारमा हरियाणाको एक अदालतले दोषी ठहर गरेपछि शुक्रबार भड्किएको हिंसामा उनीहरूको मृत्यु भएको हो।

 

अदालतको फैसलाले भड्कियो हिंसा
फैसलालगत्तै अदालत परिसरमा जम्मा भएका गुरुका समर्थकले हिंसात्मक प्रतिक्रिया प्रदर्शन गरेका थिए। मारिनेमध्ये अधिकांश गुरुका शिष्य रहेको अनुमान गरिएको छ। हरियाणामा रहेको आश्रमबाट चन्डीगढस्थित पञ्चकुलाको अदालतमा पुग्दा सिंहलाई एक सयवटा भन्दा बढी सवारीले सुरक्षा दिएका थिए।

उत्तेजित समर्थकहरूले हरियाणाको पञ्चकुला सहरमा शुक्रबार दिउँसभर उत्तेजित प्रदर्शन गरेका थिए । सिंहका समर्थक सो सहरका अधिकांश भागमा तोडफोडमा उत्रिएका थिए । प्रदर्शनकारीले कम्तीमा पनि दुईवटा रेल स्टेसनमा आगो लगाइदिएका थिए । अनियन्त्रित भिडले सवारीसाधनमा तोडफोडसमेत गरेका थिए। भिड नियन्त्रण गर्न प्रहरीले पञ्चकुला नगरमा अश्रु ग्यास र गोली प्रयोग गरेको थियो । गोली प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि पञ्चकुलामा स्थानीय प्रशासनले कर्फु आदेश जारी गरेको भारतीय समाचार संस्थाले जनाएका छन्।

 

अदालत र सरकारविरुद्ध प्रदर्शन

आफ्ना लाखौँ शिष्य भएको दाबी गर्ने कथित गुरु सिंहमाथि १५ वर्षअघि आफैँले सञ्चालन गरेको शिविरमा दुई महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । न्यायाधीश जगदीपले सिंहमाथि २८ अगस्टमा सजाय सुनाइने बताए। उनले डेरा प्रमुख रहिमलाई सात वर्षदेखि आजीवन कैद हुन सक्ने बताए। शुक्रबार अदालतको फैसला हुनुअघि चन्डीगढमा सिंहका २ लाखभन्दा बढी शिष्य भेला भएका थिए। अदालतले सिंहमाथि बलात्कारको अभियोग लगाएपछि उनीहरूले अदालत र सरकारविरुद्ध नाराबाजी गरेका थिए।


स्थिति नियन्त्रणमा लिन हजारौँ सेना, प्रहरी र अर्धसैनिक फौज परिचालन गरिएको थियो। भिड नियन्त्रण लिन प्रहरीले पानीका फोहोरा र टियर ग्याससमेत फालेको थियो। पञ्चकुला सहर र पन्जाब राज्यका विभिन्न भागमा कर्फु लगाएको छ। सिंह पक्राउ भएपछि राजधानी नयाँदिल्लीमा पनि हिंसात्मक प्रदर्शन भएका छन्। दिल्लीमा दुईवटा रेलमा आगो लागेको छ। अदालतले दोषी ठहर गरेपछि ५० वर्षीय सिंहलाई सेनाले पक्राउ गरी अदालत लगेको छ।

हरियाणा र पन्जाबमा सुरक्षा सतर्कता
हरियाणा सरकारकाले सिंहका समर्थकलाई चन्डीगढ यात्रा गर्न अनुमति दिएको भन्दै पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले हरियाणा सरकारको आलोचना गरेका छन् । चन्डीगढ दुवै राज्यको राजधानी हो । हिंसापछि दुवै राज्यका सीमा सिल गरिइएको छ।

सुरक्षा संवेदनशीलताका कारण हरियाणाका स्कुल, सरकारी कार्यालय, सडक तथा रेलवे बन्द गरिएका छन् । साथै इन्टरनेट तथा मोबाइल फोन सेवा पनि ७२ घन्टादेखि बन्द छन् । पन्चकुलामा हेलिकोप्टरले हवाई गस्ती गरिरहेको छ । अन्य स्थानमा पनि हिंसा भड्किन सक्ने खतरामा पन्जाब सरकारले केन्द्रीय सरकारसँग सुरक्षा फौजको सहयोग मागेको छ । दिल्लीको मेट्रो रेल स्टेसनमा हाई अलर्ट कायम गरिएको छ । उत्तर प्रदेश र अन्य राज्यमा कडा सुरक्षा सतर्कता कायम गरिएको छ।

 

यसैबीच अदालतको फैसलालाई चुनौती दिँदै डेराका प्रमुख सिंहले पुनरावेदन अदालतमा निवेदन दिने बताएका छन् । ‘अदालतले अन्याय गरेको छ । हामीले उच्च न्यायालयमा पुनरावेदन गर्नेछौँ,’ सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हिंसामा नउत्रन पनि आह्वान गरेका छन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

 

 
को हुन् गुरमित राम रहिम सिंह ?

– गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेरा सचा सौदाका विवादास्पद नेता
– विश्वभर आफ्ना ६ करोड शिष्य रहेको सिंहको दाबी
– २३ वर्षको उमेरदेखि सो सम्प्रदायको नेतृत्व
– रक कन्र्सटमा प्रस्तुति र केही चलचित्रमा समेत अभिनय
– चम्किलो र रंगीचंगी पोसाकका कारण रकस्टार बाबाले समेत परिचित
– शिख र हिन्दूवादीका कट्टर विरोधी
– हत्या र बलात्कारका विभिन्न आरोप

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);