एजेन्सी, १७ कात्तिक । अक्टोबर २४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे सिओल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । १३ सय जना मनोनयनकर्ताले छानेका एक सयजनालाई पछि पार्दै सन् २०१८ को सिओल शान्ति पुरस्कार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गरेका थिए ।
तर पुरस्कार पाएपछि त्यसको व्यापक विरोध भएको छ । दक्षिण कोरियाको नागरिक समाजले मोदी सिओल शान्ति पुरस्कार लिन अयोग्य व्यक्ति भएको भन्दै विरोध गरेको छ ।
सन् १९९० मा स्थापना भएको सिओल शान्ति पुरस्कार २४ औं ओलम्पिक खेलकुद कोरियामा सफल रुपमा सम्पन्न भएको खुशीयालीमा प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरिएको छ ।
२४ औं ओलम्पिक खेलकुद प्रतियोगितामा १ सय ६० देशको सहभागिता रहेको थियो । खेलकुद आयोजनाको अवसरमा सबै देशले कोरियाली प्रायद्विपमा र विश्वमा शान्तिको कामना गरेका थिए ।
यसकोसाथै त्यो खेलले धेरै देशको मेलमिलाप गरिदिएको थियो । विशेष गरी कोरियाली प्रायद्विपमा शान्तिको कामना गर्दै सिओल शान्ति पुरस्कार दिन थालिएको हो ।
सिओल शान्ति पुरस्कार त्यस्ता व्यक्तिलाई दिइँदै आइएको छ जसले वार्ता, सहमति, पुनर्मिलनबाट शान्ति र विकासमा हातेमाले अगाडि बढाउँछन् ।
यो पुरस्कार संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफि अन्नान, जर्मन चान्सलर एङ्गेला मर्केल जस्ता व्यक्तिले पाइसकेका छन् । अहिलेसम्म १४ जना व्यक्ति सिओल शान्ति पुरस्कारबाट सम्मानित भैसकेका छन् ।
सन् २०१८ को सिओल शान्ति पुरस्कार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गरेका छन् । तर पुरस्कार पाएपछि उनी विवादमा परेका छन् । भारतीय प्रधानमन्त्री मोदी सिओल शान्ति पुरस्कारबाट सम्मानित भएको दुई दिनपछि कोरियामा मोदीको व्यापक विरोध भयो ।
दक्षिण कोरियाको नागरिक समाजले मोदी सिओल शान्ति पुरस्कार लिन अयोग्य व्यक्ति भएको भन्दै विरोध गरेको थियो । कोरियाका नागरिक समाजले मोदी कोरियाका पूर्व राष्ट्रपति चुन डू ह्वानजस्तै रहेको र उनलाई हचुवाका भरमा पुरस्कार दिइएको भन्दै विरोध गरेको हो।
मोदीले सन् २००२ मा गुजरातमा धेरैको हत्या गरेकोले उनी सिओल शान्ति पुरस्कार लिन अयोग्य रहेको आरोप कोरियाको नागरिक समाजले लगाएको छ । गएको अक्टोबर २९ मा कोरियाका धेरै नागरिक समाजले सिओल शान्ति पुरस्कार कमिटीको कार्यालय अगाडि प्रदर्शन गर्दै मोदीलाई दिइएको सिओल शान्ति पुरस्कार फिर्ता लिन माग गरेका थिए ।
अक्टोबर २४ मा मोदीलाई सिओल शान्ति पुरस्कार दिइएको थियो तर त्यसको दुई दिनपछि अक्टोबर २६ मा कोरियाको नागरिक समाजले मोदीलाई सिओल शान्ति पुरस्कार दिनु कोरियाका तानाशाही चुन ह्वानलाई दिनु सरह भएको भन्दै विरोध गरेको थियो ।
उनीहरुले मोदीले भारतमा मुस्लिमहरुविरुद्ध हिंसा मच्चाएको आरोप लगाएका छन् । कोरियाको मानव अधिकार संस्थाले पनि मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००२ मा मुस्लिमविरुद्धको आन्दोलनमा एक हजारभन्दा बढी मुसलमानको ज्यान गएको र त्यसमा मोदी दोषी रहेको बताएको छ ।
सियोल शान्ति पुरस्कारमा भारतीय प्रधानमन्त्री मोदीलाई अन्तराष्ट्रिय सम्बन्ध बनाउन लागिपरेको, विश्व अर्थतन्त्रमा योगदान दिएकोे, भारतमा तीव्र आर्थिक विकास गरेको तथा भ्रष्टाचारविरुद्धको कदम चालेको साथै सामाजिक एकता कायम गरेको भनेर छनोट गरिएको थियो।