मर्निङ वाकमा गैंडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मर्निङ वाकमा गैंडा

rhino

चितवन, १४ कात्तिक । एकसिंगे गैंडा चितवनवासीका लागि नौलो होइन । चितवन राष्ट्रिय निकुञ्जको वरपर रहेका मध्यवर्ती क्षेत्रका बस्तीमा गैंडा डुल्ने कुरा पनि नयाँ होइन  ।

तर, केही समययता जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ बजार नजिकै घना बस्तीमा गैंडा घुम्ने, डुल्ने गरेको छ । भरतपुर महानगरपालिका ३ को बेलचोक बाह्रघरे क्षेत्र मुख्य बजार सहिदचोकबाट डेढ किमि पर छ । त्यही ठाउँमा साँझ र बिहान दिनहुँजसो गैंडा डुल्छ ।

बिहान झिसमिसेमै उठेर मर्निङ वाक गर्ने सहरवासीसँग प्राय गैंडाको जम्काभेट हुने गर्छ । गैंडा हेर्न चितवन निकुञ्जमा देश–विदेशका पर्यटक आउँछन् । मर्निङ वाक जाँदा गैंडा देख्दा केहीलाई रमाइलो पनि लाग्ला । राम्रैसँग उज्यालो हुँदा पनि कहिलेकाहीँ घर टोलमै गैंडा अलमलिरहेका हुन्छन् । यस्तो बेला गैंडालाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्नेहरू पनि निस्कन्छन् ।

तर यो रमाइलो मान्ने विषय होइन । गैंडा आइरहने महानगर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य भन्छन्, ‘बस्तीमा गैंडा आउनु एकक्षणका लागि अनौठो हो तर यो त्रासको विषय पनि हो ।’ गैंडाले स्थानीयको खेती र तरकारी नोक्सान गरेको छ । गैंडा हिंस्रक वन्यजन्तु हो । यसले आक्रमण गर्दा मान्छेको ज्यानै जान सक्छ । मान्छेले हान्ने, घोच्ने गर्दा गैंडा पनि मर्न सक्छ । यस्ता घटना हुने गरेका पनि छन् ।

घना बस्ती रहेको ठाउँमा एउटा होइन, धेरै नै गैंडा देखा पर्छन् । एउटा गैंडा बच्चासँगै आउँछ । वडाध्यक्ष आचार्य ५र६ गैंडा बस्तीमा आउने गरेको बताउँछन् । बच्चासहितको गैंडा खतरनाक हुन्छ । मान्छेसँग जम्काभेट हुने गरी साँझ परेपछि बस्तीमा आउने गैंडाहरू नारायणी नदीको भँगालोले बनाएको टापुको जंगलमा बस्छन् । यस्तै टापुमा छ नगरवन । बेलचोक बाह्रघरे क्षेत्रमा आउने गैंडा त्यही नगरवनका हुन् । बजारदेखि २ किमि पर छ नगरवन । नगरवनमा पहिला गैंडा थिएनन् ।

केही वर्षअघिसम्म वनमा गैंडा आए पनि बस्तीमा निस्कँदैन थिए । पछि–पछि नजिकका बस्तीमा पसेर दुख दिन थाले । अहिले किनारका बस्तीभन्दा पनि टाढा नगरवनभन्दा साढे २ किमि परसम्मका घना बस्तीमा जाने गरेका छन् । साँझ ८/९ बजेपछि वनबाट निस्कने र बिहान घाम झुल्कनुभन्दा पहिल्यै फर्कने गर्छन् ।

नगरवनदेखि तल ज्ञानेश्वर, सेतीदेवीजस्ता नदी किनारमा सामुदायिक वनहरू छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल सेतीदेखि ज्ञानेश्वर वन क्षेत्रमा पछिल्लो समय गैंडाको संख्या निकै बढेको छ । सेतीदेवी वनमा एकै ठाउँ ७ वटासम्म गैंडाको फोटो खिच्न सकिएको थियो । त्यो क्षेत्रमा रहेका ८/१० गैंडा विस्तारै नगरवनमा पनि सरेको उनले बताए ।
मान्छे, गैंडा दुवैलाई खतरा
गैंडाले बस्तीमा आएर खेती र तरकारी मात्रै नोक्सान गरेको छैन, मान्छेमाथि आक्रमण गरी ज्यान पनि लिएको छ । वडाध्यक्ष आचार्यका अनुसार २ वर्षयता वडा ४ मा मात्रै गैंडाले हानेर २ जनाको ज्यान गएको छ । ‘०७३ कात्तिकमा गैंडा आक्रमणबाट हाम्रो वडाका गौरीश्वर सापकोटाको ज्यान गयो ।

त्यसपछि मनमाया नेपालीलाई पनि गैंडाले नै हानेर मारेको छ,’ उनले भने । मान्छे नै मार्ने भएका कारण बस्तीमा गैंडा देखिनु सधैं त्रास भएको उनको भनाइ छ । बस्ती छिरेर गैंडाले मान्छे मात्रै मारेको छैन, मान्छेका कारणले गैंडाको पनि ज्यान गएको छ । अहिले गैंडा देखिने बेलचोक बाह्रघरे क्षेत्रमा गैंडालाई मान्छेले आक्रमण गर्ने घटना भएका त छैनन् ।

तर त्यो वरपरका क्षेत्रमा ०६७ सालयता ३ गैंडा मान्छेकै कारण मरेका छन् । नगरवनपारि नवलपुरको गैंडाकोटमा ०७३ पुस १८ गते मकैबारीमा गर्भवती गैंडा मृत फेला पर्‍यो । बाली खाएर हैरान पारेपछि स्थानीयले विद्युतको पासो थापेका थिए । त्यसैमा परेर गैंडा मरेको थियो । निकुञ्जको तथ्यांकअनुसार ०६७ भदौमा बाह्रघरे नजिकको मंगलपुरमा यसैगरी एउटा गैंडा मरेको थियो । भदौमा ज्ञानेश्वर सामुदायिक वनछेउ त्यसरी गैंडा मर्नुअघि जेठमा सेतीदेवी सामुदायिक वन नजिक पनि स्थानीयका कारणले गैंडा मरेको निकुञ्जको तथ्यांकमा छ ।

चितवनमा पाइने एकसिंगे गैंडा विश्वबाट लोप हुन लागेको दुर्लभ वन्यजन्तु हो । अनाहकमा गैंडा मर्दा क्षति त हुन्छ नै, स्थानीयसमेत कानुनी कारबाहीको दायरामा पर्छन् । गैंडा मारे ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ वर्ष कैद हुन्छ । यो विषयमा छलफल गर्न भरतपुर महानगरमा महिना दिनअघि सर्वपक्षीय बैठक बसेको थियो । ‘त्यो बैठकमा हामीले इलेक्ट्रिक फेन्स अर्थात् विद्युतीय तारबार गरे गैंडा बस्तीमा आउन रोकिने सुझाव दिएका थियौं ।

अन्यत्र यसै गरिएको छ । यो काम प्रभावकारी पनि भएको छ,’ निकुञ्जका सूचना अधिकारी अर्यालले भने । इलेक्ट्रिक फेन्स गर्दा साढे ३ लाख रुपैयाँसम्म पर्ने एउटा मेसिन किन्नुपर्छ । ‘त्यसपछि सामान्य आलमुनियमको तार दुई लाइन राखे हुन्छ । एउटा मेसिनले ८/१० किमिसम्म धान्छ । पोल पनि टाढा–टाढा राखे हुन्छ । यो त्यति खर्चिलो काम होइन,’ उनले भने ।

त्यो काम नगर्दासम्म गैंडासँग जम्काभेट हुने खतरा भने कायमै हुनेछ । त्यसैले स्थानीय हुन् वा मर्निङ वाक गर्नेहरू, चनाखो हुनुपर्ने देखिन्छ । गैंडा देखेपछि होहल्ला गर्ने, पिट्ने, हान्ने, लखेट्ने गर्न नहुने अर्यालले बताए । गैंडा देखे प्रहरीमा खबर गर्न पनि उनले सुझाएका छन् । आजको कान्तिपुरमा खवर छापिएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);