काठमाडौं, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणका लागि सोमबार कतार जाँदै छिन्।
कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। राष्ट्रपतिको भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ। खाडी मुलुकबीच असमझदारी बढिरहेको समयमा राष्ट्रपतिको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।
कतारलाई १७ महिनादेखि साउदी अरबको अगुवाइमा अन्य चार खाडी मुलुकले नाकाबन्दी लगाएका छन्। अन्तर्राष्ट्रिय स्तरमा पहल हुँदासमेत नाकाबन्दी खुलेको छैन। राष्ट्रपतिको चाहना र परराष्ट्रको जोडमा भ्रमण हुन लागेको हो। यद्यपि भ्रमणका विषयमा छिटफुट आलोचना भने सुरु भएको छ। भ्रमणमा दुई मन्त्रीसहित २४ जना सरकारी पदाधिकारी रहनेछन्। राष्ट्रपति भण्डारी कतार एयरलाइन्सको उडानमा त्यसतर्फ जान लागेकी हुन्। उनीसँग १२ जना उद्योगी व्यवसायी पनि सहभागी हुनेछन्।
‘भ्रमणका अवसरमा नेपाल र कतारबीच सहकार्यलाई थप उचाइमा पुर्याउने काम हुनेछ’, सरकारका प्रवक्ता गोकुल भण्डारीले भने। यस पटक पनि अन्य भ्रमणमा झैं कूटनीति र सरकारी राहदानीमा अनअराइभल प्रवेशाज्ञा दिने सहमति हुनेछ। कामदारभन्दा पनि राजनीतिक दलबाट चुनिने र कर्मचारीको हितका लागि यस्तो सम्झौता हुने गरेको हो। भ्रमणका अवसरमा कृषि तथा पशुपन्छीको क्षेत्रमा लगानी तथा त्यसको विकास, स्वास्थ्य र सुरक्षा सहयोगसम्बन्धी छलफल हुनेछ। कूटनीतिक राहदानी वाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि कार्यक्रम छ।
कतारमा तीन लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। भ्रमणका अवसरमा उनीहरूसँग अन्तक्र्रिया एवं लगानीबारे छलफल गरिनेछ। भ्रमणका लागि राष्ट्रपति र सबै कर्मचारीलाई कतारले आफ्नै उडानमा लैजाने भने पनि नेपाल सरकारले नै त्यसको खर्च बेहोरेको अधिकारीहरूले बताए। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।




