राष्ट्रपतिको विदेश भ्रमण किन कतारबाट ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

राष्ट्रपतिको विदेश भ्रमण किन कतारबाट ?

rastrapati bidhya bhandari

काठमाडौं, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने विदेश भ्रमण तय भएको छ। दोस्रो पटक राष्ट्रपति भएपछि उनले विदेश भ्रमण कतारबाट गर्न लागेकी हुन्। उनी सोमबार सरकारी टोली र व्यापारीसहित कतार भ्रमणमा जाँदै छिन्। स्थानीय, प्रदेश र संघ गरी तीनै तहको निर्वाचनपछि पुनः राष्ट्रपति बनेकी उनले विदेश भ्रमण छिमेक छाडेर खाडी मुलुकबाट गर्नुलाई अर्थपूर्ण भनिएको छ।

उनी पहिलो कार्यकालमै कतार भ्रमण गर्ने तयारीमा थिइन्। तर, त्यहाँ साउदी अरबसहित केही मुलुकले नाकाबन्दी गरेपछि भ्रमण विवादमा पर्न सक्ने भन्दै रोकिएको थियो। कतारमा नाकाबन्दी १७ महिनासम्म पनि जारी छ। उनले अघिल्लो पटक नै युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमण गरेकी थिइन्। साउदीले लगाएको नाकाबन्दीमा साथ दिएको यूएईको भ्रमणका कारण कतार झस्किएकाले अहिले हतार–हतार त्यसतर्फ जान लागेको जानकारी अधिकारीले दिएका छन्।

कतारले आफूलाई थप सशक्त र उँचो बनाउन नाकाबन्दी सहयोगी भएको बताउँदै आएको छ। यद्यपि, उसले नातेदारहरू एकअर्का मुलुकमा रहेकाले भेटघाटमा परेको समस्याबारे संयुक्त राष्ट्रसंघमा मानवताको विषय उठाइसकेको छ। आगामी विश्वकप आफूले खेलाउने र त्यसका लागि सुरक्षाकर्मी चाहिने विषयमा कतारले नेपालसँग पहल गर्दै आएको छ। आफूलाई गरिएको नाकाबन्दीका विषयमा पनि नेपालजस्ता मुलुकको साथ खोज्दै आएको अवस्थामा राष्ट्रपति भण्डारीको कतार भ्रमण हुन लागेको हो।

राष्ट्रपतिको भ्रमण किन कतारबाट भन्ने जिज्ञासामा राष्ट्रपति कार्यालयले पहिले नै हुने भनिएको तर विविध कारणले हुन नसकेको जानकारी दिएको छ। राष्ट्रपतिको इच्छा र निमन्त्रणा मिलेर कतार भ्रमण हुन लागेको जनाइएको छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भ्रमणबारे अहिले नबोल्ने प्रतिक्रिया दिएका छन्। ‘कतार भ्रमण हुने सत्य हो’, उनले भने, ‘द्विपक्षीय सम्बन्ध विस्तार र मजबुत बनाउन नै राष्ट्रप्रमुखको भ्रमणको ध्येय हुन्छ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);