एजेन्सी , १० कात्तिक । संयुक्त राज्य अमेरिकामा हुलाकमार्फत् विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै केही दिनयता विस्फोटक पदार्थ पठाउने गरिएको थियो ।
अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर सेयक भएको बताएका छन् । उनीमाथि विस्फोटक पदार्थ पठाएको र पूर्वराष्ट्रपतिहरूलाई धम्की दिएको लगायत पाँचवटा अभियोग लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले ‘ती कार्यहरू घृणित भएको र अमेरिकामा त्यसका लागि कुनै स्थान नरहेको’ बताएका छन् ।
विगत केही दिनयता पूर्वराष्ट्रपति बराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शङ्कास्पद विस्फोटक पदार्थ पठाइएका छन् ।
फ्लोरिडा र न्यूयोर्कमा शुक्रवार बिहान दुईवटा शङ्कास्पद विस्फोटक पदार्थ फेला पारिएको थियो । त्यसपछि क्यालिफोर्नियामा पनि दुईवटा भेटिएको थियो ।
राजनीतिक रूपमा निकै ध्रुवीकृत भएको अमेरिकामा मध्यावधि चुनाव हुन अब दुई हप्ताभन्दा कम समय बाँकी रहेका बेला यी घटना प्रकाशमा आएका हुन् । सञ्चारमाध्यमहरूमा जनाइए अनुसार सवारीसाधनका पार्टपुर्जा विक्री पसलमा सायोकलाई पक्राउ गरिएको हो ।
अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका आधारमा सेयकलाई पक्राउ गरिएको हो । उनी आपराधिक पृष्ठभूमिका भएको विवरणहरूमा उल्लेख गरिएको छ ।
घटनाका सन्दिग्धले ४८ वर्षसम्मका लागि जेलसजाय भोग्नुपर्ने हुनसक्ने अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।