एजेन्सी , ७ कात्तिक । यूईएफए च्याम्पियन्स लिग फुटबलमा युभेन्टस, रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । ईटालियन क्लब युभेन्ट्सले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई पराजित गरेको छ ।
म्यान्चेष्टर युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युभेन्ट्सले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा एकमात्र गोल पाउलो ड्याबालाले गरे । उनले १७ औ मिनेटमा गरेको गोल खेलको एकमात्र गोल बन्यो ।
मंगलबार राति भएको खेलमा साबिकको विजेता स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । रियलले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई २ – १ ले हराएको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्सेलोले एक एक गोल गरे । भिक्टोरियाका प्याट्रिक ह्रोसोभ्स्काईले एक गोल फर्काए ।
त्यस्तै इंग्लिश क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति सिटीले युक्रेनी क्लब शाख्तर डोनेट्स्कलाई ३ – ० ले हराएको छ ।
सिटीले उसैकै मैदानमा डोनेट्स्कलाई हराएको हो । सिटीको जितमा डेभिड सिल्भा, एम्रिक लापोर्टे र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।