काठमाडौं, ५ कात्तिक । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो ।
संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहार सम्म मूल्यवृद्धि नगर्ने निगमको भनाइ छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तिहारसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले निगमको घाटा १ अर्ब २९ करोड रूपैयाँ पुगेको छ।
हवाई इन्धन र मट्टितेल बाहेक सवैमा निगमलाई घाटा छ । निगमलाई सवैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रूपैयाँ घाटा रहेको छ ।