बाँके, २९ असोज । बाँकेको समशेरगन्जको ओभरीमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ । बाँके राप्तीसोनारी गाउँपालिका, बाँके राष्ट्रिय निकुञ्ज र श्रीमेहर गणको सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको हो ।
राप्तीसोनारी गाउँपालिकाको २० लाख ५० हजार सहयोग र बाँके राष्ट्रिय निकुञ्ज तथा सेनाको श्रीमेहर गणको जनश्रमदान तथा प्राविधिक सहयोगमा जम्मा २९ लाख ६२ हजार ३६४ रुपैयाँमा उक्त सर्पदंश उपचार केन्द्र संचालित भएको हो ।
यस सर्पदंश केन्द्रमा अहिले श्रीमेहर गण बाँके निकुञ्जका स्वास्थ्य कर्मचारी परिचालन गरिएको छ । सेनाका ४ जना स्वास्थ्यकर्मीले यहाँको सर्प तथा अन्य विषालु जनावरले टोकेका विरामीको उपचार गरिरहेका छन् ।
राजमार्गको छेउमा सर्पदंश उपचार केन्द्र संचालन हुँदा आसपासका राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकासंगै दाङ्ग, सल्यान, रुकुमका विरामीले समेत सेवा पाउने भएका छन् ।