पर्सा, २६ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं १ सोनवर्षा गदियानीबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार विहान सुराकीको आधारमा गस्ती गर्दा ४ वटा बोरामा ४८ किलो गाँजा र २१ किलो चरेश सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ७ निवासी बिरबहादुर मुक्तान र सुर्यबहादुर स्याडतानलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना भरिया भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मकवानपुरबाट पर्सा राष्ट्रिय निकुन्ज हँुदै केहि समय देखी पर्सामा लागुऔषध चरेश र गाँजा भरिया मार्फत पर्सामा भित्रिने गरेको छ । पर्सा जिल्लामा गाँजा खेती बिगत ६ वर्षदेखि बन्द भए पनि बाहिर जिल्लाबाट पर्साको भुमि प्रयोग गरि भारत तर्फ लागुऔषध लैजाने क्रम बढेको प्रहरीको भनाई छ ।
विगत ५ महिनामा पर्सामा लागुऔषध ओसार पसारका ७० वटा मुद्दा दर्ता भएको र ९८ जना पक्राउ गरिएको प्रहरीले बताएको छ । यस अवधीमा १ सय २९ किलो गाँजा, ३६ किलो चरेस बरामद भएको छ ।
गाँजा र चरेशका साथै बीरगन्ज नाकाबाट प्रतिबन्धीत इन्जेक्सनको ओसार पसार पनि बढेको छ । बिगत ५ महिनामा ७ हजार पीस विभिन्न प्रतिबन्धीत लागु औषध इन्जेक्सन बरामद भएको छ । यसको ओसार पसारमा संलग्न रहेको आरोपमा ५ महिनामा ९५ जना पक्राउ परेका छन् ।