काठमाडौं, २६ असोज । नेपाल खाद्य संस्थानले आजदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरण सूरु गरेको छ ।
नेपाल खाद्य संस्थान, बागमती अंचल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट आजदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा विक्रीवितरणको काम सुरु भएको छ । संस्थानका बागमती अंचल कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बिक्रीका लागि बिहिबार बिहानसम्म ९० वटा खसी, बोका र ५ सय ५० वटा च्याङग्रा काठमाडौं आईपुगेको जानकारी दिए । शुक्रवारसम्म मुस्ताङबाट १ हजार च्याङग्रा काठमाडौं ल्याइनेछ भने हेटौडाबाट ९ सय १० वटा खसी, बोका काठमाडौं ल्याउने संस्थानको योजना छ । आज विहान ८ बजेदेखिबाट खसी, बोका र च्याङग्राको विक्री वितरण शुरु भएको छ ।
बजार भाउलाई हेरेर सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको मूल्य निर्धारण गरिएको संस्थानले जनाएको छ । संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अंचल कार्यालय परिसरबाट दसैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा विक्री वितरण गर्ने गरेको छ । यस वर्ष बाटो अप्ठयारो भएका कारण मुस्ताङबाट च्याङग्रा ल्याउन कठिनाई भईरहेको पनि संस्थानले जनाएको छ ।